काठमाडौँ । एनएमबि बैंकको ३०औँ वार्षिक साधारण सभा बिहीबार, २०८२ पुस २४ गते त्रिभुवन आर्मी अफिसर्स क्लब, टुँडिखेल, काठमाडौँमा सम्पन्न भएको छ। सभामा बैंकका सञ्चालक समिति अध्यक्ष, सञ्चालक र शेयरधनीहरू उपस्थित थिए।
सभा सञ्चालक समिति अध्यक्ष श्री मनोज कुमार गोयल को सभापतित्वमा सञ्चालन भएको थियो। सहभागी शेयरधनीहरूले बैंकका विविध विषयमा आफ्ना विचार व्यक्त गर्दै छलफल गरेका थिए।
वार्षिक साधारण सभाले आर्थिक वर्ष २०८१/८२ को मुनाफाबाट शेयरधनीहरूलाई हाल कायम चुक्तापूँजीको ५ प्रतिशत बोनस शेयर र ५ प्रतिशत नगद लाभांश (कर प्रयोजनसहित) वितरण गर्ने प्रस्ताव पारित गरेको छ।
साथै, बैंकले २०८२ आषाढ मसान्तसम्ममा २ अर्ब ८५ करोड रुपैयाँ खुद नाफा अर्जन, रु. २८३.६५ अर्ब निक्षेप संकलन र रु. २४३.३ अर्ब कर्जा प्रवाह गरेको वित्तीय विवरण सार्वजनिक गरेको छ।
हाल बैंकले देशभर २०२ शाखा, १८४ एटिएम र ९ एक्सटेन्सन काउन्टर मार्फत बैंकिङ सेवा प्रदान गर्दै आएको छ।

