काठमाडौं । करेन्ट चाउचाउ उत्पादन गर्ने यशोदा फुड्स प्रालिले एकै वर्षमा साढे ७ अर्ब रुपैयाँभन्दा बढी आम्दानी गर्दै उल्लेखनीय व्यावसायिक सफलता हासिल गरेको छ। कम्पनीका अनुसार सन् २०२५ मा यशोदा फुड्सको सञ्चालन आम्दानी ७ अर्ब ६८ करोड ९० लाख रुपैयाँ पुगेको छ, जुन अघिल्लो वर्षको तुलनामा ३१ प्रतिशत अर्थात् १ अर्ब ८२ करोड रुपैयाँले बढी हो।
सन् २०२४ मा कम्पनीले ५ अर्ब ८६ करोड ९० लाख रुपैयाँ आम्दानी गरेको थियो। पछिल्ला वर्षहरूमा यशोदा फुड्सको आम्दानी निरन्तर उकालो लागिरहेको देखिन्छ। कम्पनीले सन् २०२० मा १ अर्ब ७३ करोड रुपैयाँ, सन् २०२१ मा २ अर्ब ६६ करोड रुपैयाँ, सन् २०२२ मा ३ अर्ब ४३ करोड रुपैयाँ र सन् २०२३ मा ४ अर्ब ९५ करोड रुपैयाँ आम्दानी गरेको थियो।
सन् २०१७ मा स्थापना भएको यशोदा फुड्सले छोटो समयमै नुडल्स र स्न्याक्स बजारमा आफ्नो बलियो उपस्थिति बनाएको छ। कम्पनीले करेन्ट ब्रान्डअन्तर्गत नुडल्स, फ्राइड स्न्याक्स र भुजिया उत्पादन तथा बिक्री गर्दै आएको छ। सन् २०२५ मा भएको आम्दानी वृद्धि नुडल्स र स्न्याक्स दुवै खण्डबाट आएको कम्पनीले जनाएको छ।
रुपन्देहीको तिलोत्तमा–१५ मा उत्पादन केन्द्र रहेको यशोदा फुड्सले विसं २०८१ असारमा आफ्नै पूर्ण स्वामित्वमा रहेको सहायक कम्पनी यशोदा नुडल्स एण्ड स्न्याक्सलाई मर्जर गरेपछि उत्पादन क्षमता थप विस्तार गरेको थियो। मर्जरपछि कम्पनीको वार्षिक उत्पादन क्षमता नुडल्सतर्फ ४२ हजार मेट्रिक टन र स्न्याक्सतर्फ ४ हजार ५ सय मेट्रिक टन पुगेको छ।
यशोदा फुड्सका अध्यक्ष चुन्नाप्रसाद शर्मा हुन्। व्यवसायिक क्षेत्रमा चार दशकभन्दा बढी अनुभव रहेका शर्मा सोना प्याकेजिङ इन्डस्ट्रिजका पनि अध्यक्ष हुन्। कम्पनीका कार्यकारी निर्देशक जीपी शाहले अन्तर्राष्ट्रिय रणनीति र व्यवसाय विस्तारको नेतृत्व गरिरहेका छन्।
मर्जरपछि आम्दानी बढे पनि कम्पनीको ब्याज, लीज, ह्रासकट्टी र करअघिको नाफा (पीबीआईएलडीटी) मार्जिन घटेको छ। अघिल्लो वर्ष ११.४३ प्रतिशत रहेको पीबीआईएलडीटी मार्जिन सन् २०२५ मा घटेर ७.४३ प्रतिशतमा सीमित भएको छ। यद्यपि, कम्पनीले गत वर्ष ३० करोड रुपैयाँ बराबर लाभांश वितरण गरेको छ भने सञ्चित नाफा ४४ करोड ३० लाख रुपैयाँ पुगेको छ।
कम्पनीले बैंक तथा वित्तीय संस्थाबाट २ अर्ब २० करोड रुपैयाँभन्दा बढी ऋण लिएको छ। यसमध्ये ५० करोड ८० लाख रुपैयाँ दीर्घकालीन र १ अर्ब ७० करोड रुपैयाँ अल्पकालीन ऋण रहेको छ। अघिल्लो वर्ष कम्पनीको कुल ऋण करिब २ अर्ब रुपैयाँ थियो।
यशोदा फुड्सले हाल सबै प्रदेशमा बजार विस्तार गरिसकेको जनाएको छ। देशभर करिब ३०० भन्दा बढी अधिकृत वितरकमार्फत कम्पनीका उत्पादनहरू प्रमुख सहर, नगर, डिपार्टमेन्ट स्टोर र सुपरमार्केटमा उपलब्ध छन्। साथै, भारतसहित अन्य देशमा पनि कम्पनीले उत्पादन निर्यात गर्दै आएको छ। सन् २०२५ मा निर्यातबाट आएको आम्दानी कुल आम्दानीको करिब १२ प्रतिशत रहेको कम्पनीको दाबी छ।
कम्पनीले कच्चा पदार्थमा स्वदेशी उत्पादनलाई प्राथमिकता दिँदै भारत, मलेसिया र इन्डोनेसियाबाट समेत केही कच्चा पदार्थ आयात गर्दै आएको छ। गहुँको पीठो, पाम तेल र पामोलिन तेल कम्पनीका प्रमुख कच्चा पदार्थ हुन्। कच्चा पदार्थ खर्च कुल सञ्चालन आम्दानीको करिब ८२ प्रतिशत रहेको कम्पनीले जनाएको छ।
यसैबीच, यशोदा फुड्सले सन् २०२५ डिसेम्बरमा नेपालको पहिलो ‘ग्रीन नुडल्स’ उत्पादन इकाइ सञ्चालनमा ल्याएको छ। ८६५ केडब्ल्यूपी क्षमताको रूफटप सोलार प्लान्टबाट करिब ८० प्रतिशत ऊर्जा आवश्यकता पूर्ति गर्ने व्यवस्था गरिएको कम्पनीले जनाएको छ। यस कदमलाई दिगो र वातावरणमैत्री उत्पादनतर्फको महत्वपूर्ण उपलब्धिका रूपमा हेरिएको छ।

