काठमाडौं । साना किसान विकास वित्तीय संस्था लिमिटेडले शेयरधनीलाई १४.२५ प्रतिशत बोनस सेयर वितरण गर्ने निर्णय गरेको छ। शुक्रबार काठमाडौँमा सम्पन्न संस्थाको २४औँ वार्षिक साधारणसभाले उक्त प्रस्ताव पारित गरेको हो।
साधारणसभाले लगानीकर्तालाई प्रतिफल स्वरूप १४.२५ प्रतिशत बोनस सेयर तथा कर प्रयोजनका लागि ०.७५ प्रतिशत नगद लाभांश वितरण गर्ने निर्णय गरेको संस्थाले जनाएको छ। सभापछि जारी प्रेस विज्ञप्तिमा आगामी दिनमा अझ उच्च प्रतिफल दिन सक्ने गरी व्यवसाय विस्तारमा प्रतिबद्ध रहने उल्लेख गरिएको छ।
“साना किसानको समृद्धिस् कृषिको रूपान्तरण र उद्यमशीलताको विकास” भन्ने नाराका साथ स्थापना भएको यस वित्तीय संस्थामा देशका ७७ वटै जिल्लाका ५४६ स्थानीय तह अन्तर्गत १,४६३ साझेदार सहकारी संस्था आबद्ध छन्। ती सहकारीमार्फत ८८ अर्ब ८४ करोड ४९ लाख रुपैयाँ बराबरको आन्तरिक पुँजी निर्माण तथा परिचालन गरिएको संस्थाले जनाएको छ।
आर्थिक वर्ष २०८१/८२ को अन्त्यसम्म वित्तीय संस्थाले ९ लाख ४१ हजार ७३१ साना किसान परिवारलाई लघुवित्त सेवा प्रदान गरेको छ। लाभग्राहीमध्ये दलित १०.९२ प्रतिशत, जनजाति ४२.२१ प्रतिशत र अन्य ४६.८७ प्रतिशत रहेका छन् भने महिला सहभागिता ८२ प्रतिशत रहेको संस्थाको दाबी छ।
संस्थाका प्रमुख कार्यकारी अधिकृत बाशु अधिकारीका अनुसार आर्थिक वर्ष २०८१/८२ मा संस्थाको जारी तथा चुक्ता पुँजी ४ अर्ब ३१ करोड रुपैयाँ, कुल सम्पत्ति ४१ अर्ब ५० करोड रुपैयाँ, प्रति सेयर आम्दानी २०/२९ रुपैयाँ, बुक नेटवर्थ २३९/३८ रुपैयाँ पुगेको छ। त्यस्तै, जम्मा पुँजीमा प्रतिफल ८.४८ प्रतिशत र कुल पुँजी कोष १६.०२ प्रतिशत रहेको छ।
उनका अनुसार हालसम्म सहकारीमार्फत २३ अर्ब १ करोड रुपैयाँ लगानी र २४ अर्ब ८४ करोड रुपैयाँ ऋण असुली गरिएको छ भने लगानीमा रहेको कर्जा ३५ अर्ब ९० करोड रुपैयाँ पुगेको छ।
संस्थाले नेपाल सरकारको ऋण सहयोगमा सञ्चालन गर्दै आएको सहुलियतपूर्ण पशुपालन तथा तरकारी खेती कर्जा कार्यक्रम अन्तर्गत हालसम्म ४३ अर्ब ८० करोड रुपैयाँ पशुपालन र ३ अर्ब ९ करोड रुपैयाँ तरकारी खेती कर्जा प्रवाह गरेको छ। यसबाट किसानहरूले १७ लाखभन्दा बढी पशुधन पालन र १० हजार बिघाभन्दा बढी क्षेत्रफलमा तरकारी खेती गरेका छन्। सो कार्यक्रममार्फत हालसम्म ७३ अर्ब रुपैयाँभन्दा बढीको कृषि उत्पादन भएको संस्थाको भनाइ छ।
त्यसैगरी, बागमती प्रदेश सरकार तथा एसियाली विकास बैंकको सहकार्यमा उत्पादन, रोजगारी र ग्रामीण उद्यम प्रवर्द्धनका विभिन्न परियोजना सञ्चालन भइरहेका छन्। हालसम्म २,५४३ उद्यम सञ्चालन भई ५ अर्ब ४९ करोड रुपैयाँभन्दा बढी लगानी भएको जानकारी दिइएको छ। संस्थाले कृषि वित्तीय साक्षरता, उद्यमशीलता विकास, पशुधन बीमा, सुधारिएको चुलो, युवा सहभागिता तथा सहकारी क्षमता अभिवृद्धि जस्ता कार्यक्रम पनि निरन्तर सञ्चालन गर्दै आएको जनाएको छ।
पारदर्शिता, व्यावसायिक दक्षता र संस्थागत जवाफदेहितालाई केन्द्रमा राख्दै प्रविधिमैत्री तथा उत्पादनमुखी लगानीमार्फत साना किसानको आय वृद्धि र आत्मनिर्भरता हासिल गर्ने लक्ष्यसहित संस्था अघि बढिरहेको जनाएको छ।

