२०८३, आश्विन २० गते

images
  • समाचार
  • तनहुँको शुक्लागण्डकीमा एकैदिन तीन जनाको शव...

तनहुँको शुक्लागण्डकीमा एकैदिन तीन जनाको शव फेला

तनहुँको शुक्लागण्डकीमा एकैदिन तीन जनाको शव फेला

सीएनएन खबर
शनिवार, पौष २६ २०८२०३:४०
सीएनएन खबर
शनिवार, पौष २६ २०८२०३:४०
  • images

    काठमाडौँ ।  तनहुँको शुक्लागण्डकी नगरपालिकामा एकैदिन तीन जनाको शव फेला परेको छ। दुई पुरुष र एक महिलाको शव भेटिएको प्रहरीले जनाएको छ। सबै मृतकको शरीरमा चोट देखिएकाले हत्याको आशङ्का गरिएको छ।

    प्रहरीका अनुसार शुक्लागण्डकी नगरपालिका–५ कसेरीस्थित शुक्लागण्डकी नगरपालिकाको फोहोरमैला प्रशोधन केन्द्रमा दुई जना पुरुषको शव फेला परेको हो। मृतकमध्ये शुक्लागण्डकी नगरपालिका–११ राइपुरका नारायण विकको पहिचान खुलेको छ भने अर्का एक जनाको पहिचान खुल्न सकेको छैन।

    त्यस्तै, अर्को एक जनाको शव जनकल्याण माध्यमिक विद्यालयको तलपट्टि रहेको जङ्गल क्षेत्रमा फेला परेको छ। उक्त शव महिलाको भएको इलाका प्रहरी कार्यालय बेलचौताराका प्रमुख प्रहरी निरीक्षक धननारायण श्रेष्ठले जानकारी दिए। महिलाको समेत हालसम्म पहिचान खुल्न सकेको छैन।

    प्रहरीका अनुसार तीनै जनाको शव सेती नदी किनार क्षेत्रमा फेला परेका हुन्। प्रारम्भिक अनुसन्धानमा मृतकमध्ये एक जना फोहोरमैला प्रशोधन केन्द्रमा कार्यरत सुरक्षा गार्ड भएको खुलेको छ। उनी प्रायः केन्द्रभित्रै बस्दै आएका थिए, तर शव बाहिर भेटिनुले घटनालाई थप रहस्यमय बनाएको प्रहरीले जनाएको छ।

    अन्य दुई जना सोही क्षेत्रको खोला किनार नजिकै फोहोर डिपो आसपास बस्दै आएका व्यक्ति भएको स्थानीयले बताएका छन्। मृतकहरूको साथमा परिचय खुल्ने कागजपत्र नपाइए पनि स्थानीयवासीले उनीहरूको नाम पहिचान गरेको र त्यसको आधिकारिक पुष्टि हुन बाँकी रहेको प्रहरीले जनाएको छ।

    घटनाको प्रकृति गम्भीर र शङ्कास्पद देखिएपछि जिल्ला प्रहरी कार्यालय तनहुँका एसपीको नेतृत्वमा टोली, गण्डकी प्रदेशको प्राविधिक टोली तथा तालिमप्राप्त कुकुरसहितको टोली घटनास्थलमा पुगेर अनुसन्धान अघि बढाइएको छ।

    “घटना गम्भीर प्रकृतिको देखिएको छ। हामी सूक्ष्म ढङ्गले अनुसन्धान गरिरहेका छौँ,” प्रहरी निरीक्षक श्रेष्ठले भने, “तालिमप्राप्त कुकुर र प्राविधिक टोली परिचालन गरिएको छ।”

    प्रहरीले घटनासम्बन्धी थप विवरण संकलन भइरहेको र अनुसन्धानपछि वास्तविक कारण खुल्ने जनाएको छ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend