काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा आज विशेष महाधिवेशनमा सहभागी हुने भनी सामाजिक सञ्जालमा फैलिएको हल्ला गलत भएको उनका सचिवालयले स्पष्ट पारेको छ।
सभापति देउवाका स्वकीय सचिव भानु देउवाले केही व्यक्तिहरूले भ्रम फैलाउने उद्देश्यले गलत सूचना प्रवाह गरेको भन्दै त्यसमा कुनै सत्यता नरहेको जानकारी दिएका छन्। सचिवालयका अनुसार भृकुटीमण्डपमा हुने भनिएको कार्यक्रममा सभापति देउवाको सहभागिता हुने कुनै कार्यतालिका छैन।
स्वकीय सचिव भानु देउवाले सामाजिक सञ्जालमा आएका आधारहीन सूचनाको पछि नलाग्न र भ्रममा नपर्न पनि सबैमा आग्रह गरेका छन्। उनले भने, गलत सूचना प्रवाह भएकोमा सचिवालयको गम्भीर ध्यानाकर्षण भएको छ।

