२०८३, आश्विन १९ गते

images
  • अटो
  • नाइमा र काठमाडौँ उपत्यका ट्राफिक प्रहरीबीच...

नाइमा र काठमाडौँ उपत्यका ट्राफिक प्रहरीबीच ५ वर्षे दीर्घकालीन तालिम समझदारीपत्र हस्ताक्षर

नाइमा र काठमाडौँ उपत्यका ट्राफिक प्रहरीबीच ५ वर्षे दीर्घकालीन तालिम समझदारीपत्र हस्ताक्षर

सीएनएन खबर
सोमवार, पौष २८ २०८२०५:३४
सीएनएन खबर
सोमवार, पौष २८ २०८२०५:३४
  • images

    काठमाडौँ । नेपाल अटोमोबील इम्पोर्टर्स एण्ड म्यान्यूफ्याक्चरर्स एसोसिएसन (नाइमा) र काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालय (KVTPO) बीच ५ वर्षे दीर्घकालीन रणनीतिक समझदारीपत्र (MoU) मा हस्ताक्षर भएको छ। सम्झौताअनुसार काठमाडौँ उपत्यकाका कुल १,६५१ जना ट्राफिक प्रहरीहरूलाई व्यवहारकुशल सीप (Soft Skills) र नयाँ सवारी प्रविधि सम्बन्धी नियमित तालिम प्रदान गरिनेछ।

    समझदारीपत्र हस्ताक्षर कार्यक्रम ट्राफिक सप्ताह २०८२ अन्तर्गत “सडक दुर्घटना न्यूनीकरण विशेष अभियान” को अवसरमा सम्पन्न भएको थियो। हस्ताक्षर आदान–प्रदान प्रहरी महानिरीक्षक (IGP) दानबहादुर कार्की र नाइमाका बोर्ड सदस्य सौरभ ज्योतिबीच गत शनिबार भएको हो।

    तालिमको मुख्य उद्देश्य ट्राफिक प्रहरीलाई आधुनिक ट्राफिक व्यवस्थापन, सडक सुरक्षा, सेवा–केन्द्रित व्यवहार, जोखिम न्यूनीकरण र प्रविधिमैत्री अभ्यासका विषयमा निरन्तर अद्यावधिक राख्दै नागरिकसँगको दैनिक सेवा प्रवाहलाई प्रभावकारी बनाउनु रहेको छ। सम्झौताको आधारमा नाइमाले सदस्य कम्पनीका विशेषज्ञता प्रयोग गर्दै तालिम सामग्री, प्राविधिक स्रोत, विशेषज्ञ सहजीकरण र समन्वय उपलब्ध गराउनेछ भने ट्राफिक कार्यालयले तालिमको प्राविधिक नेतृत्व, सहभागी व्यवस्थापन र गुणस्तर सुनिश्चित गर्नेछ।

    पहिलो चरणको तालिम २०८२ माघ ४ गतेबाट सुरु हुँदै १७ कार्यदिनसम्म सञ्चालन हुने छ। प्रत्येक सत्रमा १०० जना ट्राफिक प्रहरी सहभागी हुने व्यवस्था गरिएको छ। तालिममा तनाव व्यवस्थापन, सञ्चार तथा द्वन्द्व व्यवस्थापन, नयाँ सवारी साधन प्रविधिको प्रत्यक्ष अवलोकन, ट्राफिक व्यवस्थापन व्यावहारिक अभ्यास, सडक दुर्घटना न्यूनीकरण र ह्यान्ड–जेस्चर सीपजस्ता विषय समेटिएका छन्।

    तालिमको सहजीकरणका लागि इन्स्टिच्युट अफ इन्जिनियरिङ (IOE) पुलचोक र थापाथली क्याम्पसका प्राध्यापकहरू, जीवन विज्ञानका प्रशिक्षकहरू, नाइमा सदस्य कम्पनीका प्राविधिक विज्ञहरू, जीवन प्रशिक्षक रमन भट्टराई, साथै अन्य स्वतन्त्र विषय विज्ञहरू सहभागी हुनेछन्। केही महत्त्वपूर्ण सत्रहरू ट्राफिक प्रहरी प्रमुख र वरिष्ठ अधिकृतहरूले पनि सञ्चालन गर्नेछन्।

    काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रमुख वरिष्ठ ट्राफिक प्रहरी उपरीक्षक (SSP) नवराज अधिकारीले भने, “ट्राफिक प्रहरी दैनिक रूपमा जनतासँग प्रत्यक्ष सम्पर्कमा रहन्छन्, त्यसैले उनीहरूको व्यवहारकुशल सीप र नयाँ सवारी प्रविधिबारे अद्यावधिक राख्नु अत्यन्त आवश्यक छ।”

    नाइमा अध्यक्ष ऋतु सिंह वैद्यले सडक सुरक्षा प्रवर्द्धन, उपभोक्ता शिक्षा, दक्ष मानवस्रोत विकास र नीति पैरवीमा संस्था निरन्तर सक्रिय रहेको उल्लेख गर्दै, दीर्घकालीन सहकार्यले ट्राफिक प्रहरी क्षमता विकासमार्फत नागरिकमैत्री सेवा प्रवाह सुधार गर्ने विश्वास व्यक्त गरिन्।

    नाइमाका बोर्ड सदस्य सौरभ ज्योति र कार्यकारी निर्देशक राजकुमार दुलालले पनि तालिम कार्यक्रम सुरक्षित सडक संस्कृतिको विकास र दीगो मोबिलिटी प्रवर्द्धनमा प्रत्यक्ष योगदान पुर्‍याउने उल्लेख गरे।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend