काठमाडौं । नबिल बैंक लिमिटेडको सञ्चालक समितिको अध्यक्ष पदमा निर्वाण कुमार चौधरी चयन भएका छन्। बैंकको सोमबार बसेको ६९९औँ सञ्चालक समिति बैठकले चौधरीलाई अध्यक्षमा चयन गरेको हो।
नेपाल राष्ट्र बैंकबाट शपथ ग्रहण गरेपछि उनले औपचारिक रूपमा अध्यक्षको कार्यभार सम्हाल्ने बैंकले जनाएको छ। यसअघि बैंकका अध्यक्ष उपेन्द्रप्रसाद पौड्यालले लगातार दुई कार्यकाल पूरा गरेपछि अध्यक्ष पद रिक्त रहेको थियो। सोही रिक्त पदमा चौधरी चयन भएका हुन्।
यसैबीच, नबिल बैंकको ४१औँ वार्षिक साधारणसभाले संस्थापक सेयरधनीतर्फबाट सञ्चालक समितिको सदस्यमा अनिल केशरी शाहलाई निर्विरोध निर्वाचित गरेको छ।
साधारणसभाले आर्थिक वर्ष २०८१/८२ को मुनाफाबाट सेयरधनीलाई १२.५० प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्तावसमेत पारित गरेको छ। हाल नबिल बैंकले देशभर २६८ शाखा सञ्जाल र ३२१ एटिएम मेसिनमार्फत बैंकिङ सेवा प्रदान गर्दै आएको छ। बैंकले २५ लाखभन्दा बढी ग्राहकलाई सेवा दिँदै आएको जनाएको छ।

