काठमाडौँ । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि काठमाडौँका विभिन्न स्थानमा निर्वाचन कार्यालय स्थापना गरी आवश्यक कामकारबाही सुरु गरिएको छ।
जिल्ला निर्वाचन कार्यालय काठमाडौँका अनुसार काठमाडौँका १० वटै निर्वाचन क्षेत्रमा स्थापना गरिएका निर्वाचन कार्यालयमा आज उम्मेदवारहरूले मनोनयन पत्र दर्ता गराउने कार्यक्रम रहेको छ।
कार्यालयका अनुसार काठमाडौँ क्षेत्र नं. १ को निर्वाचन कार्यालय नयाँ बानेश्वरस्थित सहकारी प्रशिक्षण केन्द्रमा तोकिएको छ। क्षेत्र नं. २ को कार्यालय कागेश्वरी मनोहरा नगरपालिकाको नगर भवनमा स्थापना गरिएको छ।
यसैगरी, काठमाडौँ क्षेत्र नं. ३ को निर्वाचन कार्यालय गोकर्णेश्वर नगरपालिका–४ को कार्यालयमा र क्षेत्र नं. ४ को निर्वाचन कार्यालय बूढानीलकण्ठ नगरपालिकाको ज्येष्ठ नागरिक समाज भवन, चपलीमा सञ्चालनमा छ।
काठमाडौँ क्षेत्र नं. ५ का लागि टोखा नगरपालिकाको श्री समाज भवनमा कार्यालय स्थापना गरिएको छ भने क्षेत्र नं. ६ को निर्वाचन कार्यालय तारकेश्वर नगरपालिकाको भवन, धर्मस्थलीमा रहेको छ।
त्यस्तै, काठमाडौँ क्षेत्र नं. ७ का लागि बहुउद्देश्यीय मार्सल आर्ट्स केन्द्र (जुडो हल), खुसीबु–बालाजुमा कार्यालय सञ्चालनमा आएको छ। क्षेत्र नं. ८ को निर्वाचन कार्यालय नागार्जुन नगरपालिकाको नगरपालिका भवनमा र क्षेत्र नं. ९ को कार्यालय चन्द्रागिरि नगरपालिकाको भवनमा स्थापना गरिएको छ।
काठमाडौँ क्षेत्र नं. १० को निर्वाचन कार्यालय कीर्तिपुर नगरपालिका–२ स्थित बाघभैरवमा स्थापना गरिएको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ।
यसैबीच, ललितपुर र भक्तपुर जिल्लामा पनि पायक पर्ने स्थानहरूमा निर्वाचन कार्यालय स्थापना भई सञ्चालनमा आइसकेको जनाइएको छ।

