काठमाडौं । समग्र सेयर बजार आइतबार ३२ अंकले उकालो लाग्दा कामना सेवा विकास बैंक लिमिटेडको सेयर मूल्य पनि ४.१९ प्रतिशतले बढेको छ। बैंकको बलियो वित्तीय प्रदर्शनप्रति लगानीकर्ताको बढ्दो भरोसाले सेयर मूल्यमा सकारात्मक प्रभाव पारेको देखिएको छ।
बैंकले सोमबार चालु आर्थिक वर्ष २०८२/८३ को दोस्रो त्रैमासिक वित्तीय विवरण सार्वजनिक गर्दै खुद नाफामा उल्लेख्य वृद्धि भएको जनाएको छ। विवरणअनुसार बैंकको खुद नाफा २२.३४ प्रतिशतले बढेर ३९ करोड ४५ लाख रुपैयाँ पुगेको छ। अघिल्लो आर्थिक वर्ष २०८१/८२ को सोही अवधिमा बैंकको नाफा ३२ करोड २४ लाख रुपैयाँ रहेको थियो।
यस अवधिमा बैंकको खुद ब्याज आम्दानी पनि ११ प्रतिशतले वृद्धि भई एक अर्ब २१ करोड रुपैयाँ पुगेको छ। अघिल्लो वर्ष सो आम्दानी एक अर्ब आठ करोड रुपैयाँ थियो। कर्जा नोक्सानी व्यवस्थामा आएको सुधारले पनि नाफा बढ्न थप सहयोग पुगेको छ। अघिल्लो अवधिमा १९ करोड ६४ लाख रुपैयाँ कर्जा नोक्सानी व्यवस्था गरेको बैंकले यसपटक १८ करोड ७१ लाख रुपैयाँ मात्र व्यवस्था गरेको छ।
नेपाल राष्ट्र बैंकले निष्क्रिय कर्जासम्बन्धी वर्गीकरण नियममा लचकता अपनाउँदै किस्ता नियमित भई साँवा–ब्याज भुक्तानी भएको तीन महिनापछि असल कर्जामा स्तरोन्नति गर्न सकिने व्यवस्था गरेपछि बैंकहरूलाई राहत पुगेको छ। यसअघि किस्ता नियमित भए पनि छ महिनासम्म सूक्ष्म निगरानी वर्गमा राख्नुपर्ने व्यवस्था थियो। सूक्ष्म निगरानीमा रहेका कर्जामा न्यूनतम पाँच प्रतिशत कर्जा नोक्सानी व्यवस्था गर्नुपर्ने हुँदा बैंकहरूको नाफामा दबाब परेको थियो।
यस नीतिगत सहजताको प्रभाव कामना सेवा विकास बैंकको निष्क्रिय कर्जामा पनि देखिएको छ। चालु आर्थिक वर्षको पहिलो त्रैमास (असोज मसान्त) मा ४.४१ प्रतिशत रहेको निष्क्रिय कर्जा पुस मसान्तसम्म घटेर ४.१० प्रतिशतमा झरेको छ। निष्क्रिय कर्जामा २५ प्रतिशतदेखि शतप्रतिशतसम्म कर्जा नोक्सानी व्यवस्था गर्नुपर्ने भएकाले यसमा आएको सुधारलाई बैंकका लागि सकारात्मक संकेतका रूपमा हेरिएको छ।
हालसम्मको नाफा प्रवृत्तिका आधारमा कामना सेवा विकास बैंकले वार्षिक रूपमा करिब १५.१३ प्रतिशतसम्म लाभांश वितरण गर्न सक्ने क्षमता देखाएको छ। चालु अवस्थामै करिब ७.६५ प्रतिशत लाभांश दिन सक्ने देखिएकाले यसलाई वार्षिकीकरण गर्दा करिब १५ प्रतिशत लाभांश सम्भावना आँकलन गरिएको छ।
बैंकले अघिल्लो आर्थिक वर्ष २०८१/८२ को नाफाबाट १५.७८ प्रतिशत लाभांश वितरण गरेको थियो भने पछिल्लो पाँच वर्षको औसत लाभांश दर ११.३० प्रतिशत रहेको छ।

