काठमाडौँ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा जारी आईसीसी महिला विश्वकप ग्लोबल छनोट प्रतियोगिताअन्तर्गत नेपालविरुद्ध नेदरल्यान्ड्स दबाबमा परेको छ।
टस जितेर पहिले ब्याटिङ गरेको नेदरल्यान्ड्सले ६ ओभर सकिँदा २ विकेटको क्षतिमा ४३ रन बनाउँदै खेलिरहेको छ। नेपाली बलरहरूको कडा र अनुशासित बलिङका कारण नेदरल्यान्ड्स सुरुवातमै दबाबमा परेको हो।
नेपालले दोस्रो ओभरमै दुई महत्वपूर्ण विकेट लिँदै खेलमा पकड बनाएको छ। पहिलो ओभरको चौथो बलमा नेदरल्यान्ड्सकी ओपनर पेभे मोल्केबोइर शून्य रनमै सुमन विष्टको बलमा सम्झना खड्काको हातबाट क्याच आउट भइन्।
त्यसपछि दोस्रो ओभरको तेस्रो बलमा अर्की ओपनर हेइदर साइजर्स १३ बलमा १३ रन बनाएर पूजा महतोको बलमा कप्तान रुबिना क्षेत्रीको हातबाट क्याच आउट हुन पुगिन्।
घरेलु मैदानमा समर्थकहरूको उत्साहजनक उपस्थितिबीच नेपाली टोलीले उत्कृष्ट सुरुवात गरेको छ।

