अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले स्विट्जरल्यान्डको डाभोसमा आयोजित विश्व आर्थिक मञ्च (WEF) लाई सम्बोधन गर्दा विश्व राजनीतिका संवेदनशील विषयहरूमा स्पष्ट र कहिलेकाहीँ विवादास्पद टिप्पणी गरे। उनका भनाइले अमेरिका–युरोप सम्बन्धदेखि भू–राजनीति र विश्व अर्थतन्त्रसम्मका बहसलाई पुनः चर्काएको छ।
युरोपबारे ट्रम्पको भनाइ के थियो ?
ट्रम्पले युरोप “सही दिशामा नरहेको” बताए। उनका अनुसार बढ्दो सरकारी खर्च, अनियन्त्रित आप्रवासन र विदेशी आयातले युरोपको आर्थिक तथा सामाजिक संरचनामा दबाब सिर्जना गरेको छ।
ग्रिनल्यान्ड किन उनको प्राथमिकतामा पर्यो ?
ट्रम्पले डेनमार्कसँग ग्रिनल्यान्डबारे तत्काल वार्ता गर्न चाहेको बताए। उनले यसलाई रणनीतिक रूपमा महत्वपूर्ण क्षेत्र भन्दै “अमेरिकाले मात्र यसलाई सुरक्षित राख्न सक्छ” भन्ने दाबी गरे।
ग्रिनल्यान्ड र आइसल्यान्डबीच भ्रम किन भयो ?
सम्बोधनका क्रममा ट्रम्पले ग्रिनल्यान्ड उल्लेख गर्ने क्रममा केहीपटक आइसल्यान्ड भने। यो भाषणपछि सामाजिक सञ्जाल र सञ्चारमाध्यममा चर्चाको विषय बन्यो।
के ट्रम्प बल प्रयोगको पक्षमा छन् ?
ट्रम्पले आफू सैन्य बल प्रयोगको पक्षमा नरहेको दाबी गरे। “मलाई बल प्रयोग गर्न आवश्यक छैन, म त्यसो गर्न चाहन्नँ,” उनले भने।
नेटोबारे उनको सन्देश के थियो ?
ग्रिनल्यान्डसम्बन्धी योजनाले नेटो कमजोर बनाउने भन्ने दाबी ट्रम्पले अस्वीकार गरे। उनले नेटोमा अमेरिकाले अत्यधिक योगदान दिइरहेको तर प्रतिफल कम पाइरहेको बताए।
अमेरिकी अर्थतन्त्रबारे ट्रम्पको दाबी कस्तो छ ?
ट्रम्पले आफ्नो कार्यकालमा अमेरिकाले “आर्थिक चमत्कार” गरेको दाबी गरे। उनले महँगी घटेको र आर्थिक वृद्धि ऐतिहासिक भएको बताए।
भन्सार (ट्यारिफ) किन महत्वपूर्ण ठानिन्छ ?
उनका अनुसार विदेशी देशहरूमाथि लगाइएको भन्सार शुल्कले अमेरिकाको आर्थिक सुधारमा मद्दत गरेको छ। ट्रम्पले यसलाई “अमेरिकालाई भएको क्षतिको क्षतिपूर्ति” भने।
आप्रवासनबारे युरोपलाई किन आलोचना गरे ?
ट्रम्पले युरोपले टाढाका देशहरूबाट ठूलो मात्रामा आप्रवासन स्वीकार गरिरहेको भन्दै यसले केही क्षेत्रको पहिचान नै बदलिएको दाबी गरे।
युक्रेन युद्धमा उनको भूमिका के हुने ?
ट्रम्पले आफू रूसी राष्ट्रपति भ्लादिमिर पुटिन र युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीसँग संवादमा रहेको बताए। दुवै पक्ष सम्झौतामा पुग्न इच्छुक रहेको उनको भनाइ छ।
चीनको वायु फार्मबारे विवाद के हो ?
ट्रम्पले चीनमा वायु फार्म नभएको दाबी गरे। तर बीबीसीसहित अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले यो दाबी गलत भएको बताएका छन्। विश्वकै ठूला वायु फार्महरूमध्ये एक चीनको गान्सु प्रान्तमा अवस्थित छ।

