काठमाडौं । सांग्रिला डेभलपमेन्ट बैंकले चालु आर्थिक वर्ष २०८२/८३ को दोस्रो त्रैमासमा उल्लेख्य नाफा वृद्धि गरेको छ । बैंकको खुद नाफा अघिल्लो वर्षको सोही अवधिको तुलनामा ५३.९४ प्रतिशतले बढेर ३० करोड २५ लाख ९७ हजार रुपैयाँ पुगेको छ । गत वर्षको दोस्रो त्रैमासमा बैंकले १९ करोड ६५ लाख ६१ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको थियो ।
पुस मसान्तसम्ममा बैंकको खुद ब्याज आम्दानी १८.४१ प्रतिशतले वृद्धि भई १ अर्ब ८ करोड ८० लाख ७२ हजार रुपैयाँ पुगेको छ । अघिल्लो वर्षको यही अवधिमा बैंकको खुद ब्याज आम्दानी ९१ करोड ८२ लाख ९८ हजार रुपैयाँ थियो ।
समीक्षा अवधिमा खुद शुल्क तथा कमिसन आम्दानी ११.२९ प्रतिशतले बढेर १२ करोड ५३ लाख रुपैयाँ पुगेको छ भने कुल सञ्चालन आम्दानी १९.४६ प्रतिशतले वृद्धि भई १ अर्ब २५ करोड ७२ लाख ८५ हजार रुपैयाँ कायम भएको छ । यस्तै, सञ्चालन नाफा ५९.३१ प्रतिशतले बढेर ४५ करोड १३ लाख १३ हजार रुपैयाँ पुगेको छ ।
पुस मसान्तसम्ममा बैंकको वितरणयोग्य नाफा ९ करोड ४६ लाख ६१ हजार रुपैयाँ रहेको छ । यस आधारमा बैंकको लाभांश क्षमता ५.०७ प्रतिशत रहेको देखिन्छ । गत वर्षको सोही अवधिमा बैंकको वितरणयोग्य नाफा २५ करोड २५ लाख रुपैयाँ थियो ।
बैंकको चुक्ता पुँजी ५ प्रतिशतले बढेर ३ अर्ब ७३ करोड ४० लाख ६८ हजार रुपैयाँ पुगेको छ भने जगेडा कोषमा १ अर्ब ८९ करोड ३३ लाख २७ हजार रुपैयाँ संचित रहेको छ ।
दोस्रो त्रैमाससम्म आइपुग्दा बैंकको निक्षेप संकलन ०.५० प्रतिशतले घटेर ५४ अर्ब ३९ करोड २४ लाख ४६ हजार रुपैयाँमा सीमित भएको छ । यद्यपि, कर्जा लगानी भने ३।६९ प्रतिशतले वृद्धि भई ४४ अर्ब ४० करोड ८३ लाख २३ हजार रुपैयाँ पुगेको छ । गत वर्षको सोही अवधिमा बैंकले ५४ अर्ब ६६ करोड ८४ लाख ९४ हजार रुपैयाँ निक्षेप संकलन गरी ४२ अर्ब ८२ करोड ३८ लाख ९५ हजार रुपैयाँ कर्जा लगानी गरेको थियो ।
यस अवधिमा बैंकको खराब कर्जा (एनपीएल) बढेर ६.८७ प्रतिशत पुगेको छ, जुन अघिल्लो वर्षको पुसमा ४.९९ प्रतिशत थियो । साथै, बैंकको आधार दर ६.१७ प्रतिशत र कर्जा–निक्षेप अनुपात ८३.५५ प्रतिशत रहेको छ ।

