२०८३, आश्विन २० गते

images

जुम्लामा हिमपातपछि जनजीवन कष्टकर, किसान खुसी

जुम्लामा हिमपातपछि जनजीवन कष्टकर, किसान खुसी

सोमवार, माघ १२ २०८२०१:३८
सोमवार, माघ १२ २०८२०१:३८
  • images

    काठमाडौँ । जुम्ला जिल्लामा हिमपात परेसँगै चिसो अत्यधिक बढी धाराको पानीसमेत जम्न थालेपछि जुम्लाको जनजीवन कष्टकर बनेको छ । 

    सदरमुकाम खलङ्गासहित जिल्लाको माथिल्लो भेगमा खानेपानी ल्याउन प्रयोग गरिएका पाइप फुट्न थालेको नागरिक समाजका संयोजक राजबहादुर महतले जानकारी दिए । 

    “अत्यधिक चिसोका कारण यहाँका विद्यालय, क्याम्पसलगायत शैक्षिक संस्था बन्द छन् । बाहिरी पर्यटकको आवत–जावत न्यून छ । सरकारी कार्यालय खुले पनि सेवाग्राहीको उपस्थिति कम छ । साँझ–बिहान बजारका चोकचोकमा मानिस आगो बालेर बसेका देखिन्छन् । समग्रमा चिसो बढेसँगै जुम्लाको जनजीवन नराम्रोसँग प्रभावित भएको छ,” उनले भने । 

    चन्दननाथ नगरपालिकाका स्थानीय बासिन्दा सुनिता बुढाले यही माघ पहिलो हप्तादेखि निजी विद्यालय खुले पनि विद्यार्थी न्यून रहेको जानकारी दिँदै अत्यधिक चिसोका कारण विशेषगरी वृद्धवृद्धा तथा सुत्केरी, बालबालिका, दीर्घरोगीहरू प्रभावित भएको बताईन ।

    यसैबीच जल तथा मौसम कार्यालयका प्रमुख आशामपुरा कार्कीका अनुसार हिमपात परेपछि अत्यधिक चिसो बढी तापक्रम ऋणात्मकतर्फ गएको, धाराको पानी जम्न थालेको, मानिसमा श्वासप्रश्वाससँग सम्बन्धित समस्या बढेको, कठ्याङ्ग्रिँदो चिसोका कारण कष्टकर अवस्थासहित स्थानीयको दैनिकी बदलिएको छ ।

    यता चिसो बढेर जनजीवन कष्टकर बने पनि माघको पहिलो हप्ता हिमपात परेसँगै जुम्लासहित माथिल्लो कर्णालीका किसानमा खुसियाली छाएको छ । यसरी हिमपात भएपछि हिउँदे बालीलाई निकै राम्रो हुने तिला गाउँपालिका–१ का स्थानीयवासी लङ्क बुढाले जानकारी दिए । 

    कृषि विकास कार्यालयका प्रमुख रामभक्त अधिकारीले छिट्टै हिउँ परेकाले यस वर्ष गहुँ, जौ, आलुलगायत मुख्य बाली राम्रो भई किसानलाई राहत पुग्ने बताए । 

    उनले अहिले स्याउका नयाँ बिरुवा लगाउने समय भएकाले हिउँ पर्दा त्यसमा सहज भएको बताए। लामो समयदेखि वर्षा नहुँदा सुेकेका बालीनाली फस्टाउन थालेपछि कष्टकर दैनिकीका बाबजुद स्थानीय किसान हर्षित देखिन्छन् ।  

    हिमपातपछि जुम्लाका डाँडाकाँडा अहिले सेताम्मे देखिन्छन् । लामो समयपछि हिउँ परेकाले  स्थानीय युवायुवती हिउँमा रमाइरहेका छन् । यसैगरी समूह–समूह बनी फोटो खिच्ने र भिडियो खिच्नेहरू पनि त्यतिकै भेटिन्छन् ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend