२०८३, आश्विन २० गते

images

हिमपातपछि मुक्तिनाथ मन्दिर परिसर सुनसान, कागबेनीमै रोकिए दर्शनार्थी

हिमपातपछि मुक्तिनाथ मन्दिर परिसर सुनसान, कागबेनीमै रोकिए दर्शनार्थी

बिहिवार, माघ १५ २०८२१२:०४
बिहिवार, माघ १५ २०८२१२:०४
  • images

    काठमाडौँ । भारी हिमपातभएपछि यहाँको वारागुङ मुक्तिक्षेत्र—१ स्थित मुक्तिनाथ मन्दिर परिसर सुनसान बनेको छ । हिमपातकै कारण कागबेनी—मुक्तिनाथ सडकखण्ड अवरुद्ध भएपछि प्रसिद्ध धार्मिकस्थल मुक्तिनाथ मन्दिर परिसर  सुनसान बनेको हो ।

    भारी हिमपातका कारण यहाँको कागबेनी—मुक्तिनाथ कालोपत्र सडक बाँक्लो हिउँ जमेका कारण जोमसोमबाट मुक्तिनाथ प्रस्थान गरेका सवारीसाधन बुधबार बिहानबाट माथि उक्लिन सकेका छैनन् । बुधबार बिहान सशस्त्र प्रहरीको टोलीले हिउँ पन्छ्याएरअवरुद्ध सडक खुलाउन पहल गरेपनि थप हिउँ पर्न सक्ने अनुमान कारण हिउँ पन्छ्याउन प्रयास रोकेको थियो ।
     
    मुक्तिनाथ जाने कागबेनी—मुक्तिनाथ सडक अन्तर्गत कागबेनीको पहिलो मोडदेखि कागबेनी सेल्फी पार्क, कालोभीर, खिङ्गा, झारकोटलगायतका स्थानमा बाँक्लो हिउँ जमेकाले सडकअवरुद्ध बनेको वारागुङ मुक्तिक्षेत्र–१ वडाध्यक्ष प्रमेश गुरुङले जानकारी दिए। हिमपातका कारण सडक अवरुद्ध हुँदा कतिपय दर्शनार्थी भक्तजन कागबेनीबाटै घोडा चढेर मुक्तिनाथ गइरहेको वडाध्यक्ष गुरुङको भनाइ छ ।

    यसैगरी हिमपातपछि मुक्तिनाथ मन्दिरमा दर्शनार्थी पर्यटकको आगमनमा समस्या र चुनौती थपिएको मुक्तिनाथ विकास समितिका व्यवस्थापक दिनेश भुसालले जानकारी दिए। हिमपात अघि दैनिक ५०० भन्दा बढी पर्यटक उपस्थित हुने गरेकोमा बुधबारदेखि भक्तजनको उपस्थित ज्यादै नगण्य रहेको व्यवस्थापक भुसालले उल्लेख गरे ।

    कागबेनी—मुक्तिनाथ अवरुद्ध सडक सञ्चालनमा नआएसम्म मन्दिरको दैनिक क्रियाकलाप नियमित पूजापाठमै सीमित रहने व्यवस्थापक भुसालले बताए । मङ्गलबार रातिको भारी हिमपातका कारण मुक्तिनाथ क्षेत्र पूरै हिउँले ढाकिएको छ । हिमपातका कारण वारागुङ मुक्तिक्षेत्रमा पर्ने झारकोट, खिङ्गा, रानीपौवा बजार, पुराङ, छेङ्गुरलगायतका गाउँ पूरै हिउँले सेताम्मे भएका छन् ।

    muktinath himpat.jpg

    मन्दिर परिसर, १०८ धारा, मन्दिर अगाडिको स्नानकुण्डमा  पूरै हिउँ जमेका कारण यहाँ जसोतसो दर्शन गर्न आएका भक्तजनलाई पनि स्नान गर्न र मन्दिरको दर्शन गर्न कार्यमा बाधा अवरोध पु¥याएको जनाइएको छ । हिमपातपछि चिसो अत्यधिक बढेकाले दर्शनार्थीलाईसमेत लेंक लाग्न सक्ने जोखिम रहेको छ ।

    मुस्ताङमा भारी हिमपात भएपछि बुधबारदेखि कागबेनी—कोरला र मुक्तिनाथ सडकखण्ड अवरुद्ध रहेको जिल्ला प्रहरी कार्यालय मुस्ताङले जनाएको छ । यहाँका प्रहरी निरीक्षक सन्तोष बस्यालका अनुसार छुसाङदेखि कोरला सडकसम्म सडकमा दुई फिट बाँक्लो हिउँ जमेकाले सडक अवरुद्ध भएको जानकारी दिए। हिमपातका कारण सडक अवरुद्ध हुँदा मुक्तिनाथ जाने दर्शनार्थी बुधबार बिहानैदेखि कागबेनीमै रोकिएको उल्लेख गरे ।

    यसैगरी मौसम खुलेमा कागबेनी—सडक हिउँ पग्लिएर सञ्चालनमा आउन सक्ने प्रहरी निरीक्षक बस्यालको भनाइ छ । हिमपातका कारण माथिल्लो मुस्ताङको जनजीवन प्रभावित बनेको प्रहरी निरीक्षक बस्यालले बताए । रासस

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend