२०८३, आश्विन १९ गते

images
  • ब्लग
  • राजनीतिक दललाई प्रश्नः दलको घोषणापत्रमा पुँजीबजार...

राजनीतिक दललाई प्रश्नः दलको घोषणापत्रमा पुँजीबजार र पूर्वाधारको 'रोडम्याप' कहाँ छ ?

राजनीतिक दललाई प्रश्नः दलको घोषणापत्रमा पुँजीबजार र पूर्वाधारको 'रोडम्याप' कहाँ छ ?

आइतवार, माघ १८ २०८२१२:००
आइतवार, माघ १८ २०८२१२:००
  • images

    नेपालको राजनीतिक इतिहासमा व्यवस्था परिवर्तनका थुप्रै अध्यायहरू लेखिए। सडकदेखि सदनसम्म र क्रान्तिदेखि संविधानसम्मका यात्रामा राजनीतिक दलहरूले जनतालाई ठूला सपना देखाए। तर, जब आर्थिक समृद्धिको कुरा आउँछ, हाम्रा राजनीतिक दलका प्राथमिकताहरू अक्सर धुमिल देखिन्छन्। आज यो पत्रमार्फत म सबै राजनीतिक दलका नेतृत्वलाई एउटा गम्भीर प्रश्न गर्न चाहन्छु– "के तपाईँहरूको नीतिमा नेपालको पुँजीबजार र भौतिक पूर्वाधार विकासको अन्तर्राष्ट्रिय मापदण्ड अटाएको छ?"

    पुँजीबजार: अर्थतन्त्रको ऐना कि उपेक्षित क्षेत्र?

    नेपालको पुँजीबजार (सेयर बजार) अहिले ६० लाखभन्दा बढी लगानीकर्ताहरूको आशा र भरोसाको केन्द्र बनेको छ। यो केवल अंकहरूको खेल होइन, यो नेपाली जनताको रगत–पसिनाको कमाइ र देशको अर्थतन्त्रको ऐना हो। तर विडम्बना, हाम्रा राजनीतिक दलहरूका लागि पुँजीबजार अझै पनि 'अनुत्पादक क्षेत्र' वा 'जुआघर' जस्तो परिभाषामा खुम्चिएको त छैन?

    राजनीतिक दलहरूले स्पष्ट पार्नुपर्छ– तपाईँहरूको नजरमा पुँजीबजार के हो? के यसलाई उद्योगधन्दा र उत्पादनशील क्षेत्रसँग जोड्ने कुनै ठोस योजना तपाईँहरूसँग छ? पुँजीबजारलाई व्यवस्थित, पारदर्शी र आधुनिक बनाउन प्रविधिमैत्री नीति र नियामक निकाय (धितोपत्र बोर्ड) को स्वायत्तताका लागि तपाईँहरूको प्रतिबद्धता के छ?

    जबसम्म राजनीतिक नेतृत्वले पुँजीबजारलाई अर्थतन्त्रको मेरुदण्डका रूपमा स्वीकार गर्दैन, तबसम्म न त लगानीकर्ताको सुरक्षा हुन्छ, न त देशमा ठूला उद्योगका लागि आवश्यक पुँजी संकलन नै हुन सक्छ। अबको चुनावी घोषणापत्रमा "पुँजीबजारलाई यस्तो बनाउँछौँ" भन्ने सतही वाक्य मात्र होइन, "पुँजीबजारबाट लगानी जुटाएर यति उद्योग खोल्छौँ" भन्ने ठोस भिजनको अपेक्षा जनताले गरेका छन्।

    अन्तराष्ट्रिय स्तरको सडक सञ्जाल,शैक्षिक ,स्वास्थ्य र जलविद्युत पूर्वाधारमा लगानी योजना मा पुँजीबजार को व्यवस्थापन कहिले र कसरी हुन्छ योजना छ ?

    हामी समृद्धिको कुरा गर्छौं, तर हाम्रा राष्ट्रिय गौरवका आयोजनाहरूको कछुवा गति र सडकको दुर्दशा कसैबाट छिपेको छैन। अबको समय धुलाम्य सडकमा पिच थप्ने मात्र होइन, नेपाललाई अन्तर्राष्ट्रिय मापदण्डको पूर्वाधारसँग जोड्ने हो।

    दलहरूलाई मेरो प्रश्न छ– नेपालका मुख्य व्यापारिक नाका र सहरहरूलाई जोड्ने द्रुतमार्ग (एक्सप्रेस–वे) र सुरुङमार्गका लागि तपाईँहरूको इन्जिनियरिङ दृष्टिकोण के हो? के हामी सधैँ विदेशी अनुदानको मुख मात्र ताकेर बस्ने कि आफ्नै आन्तरिक पुँजी (बन्ड र सेयरमार्फत) परिचालन गरेर ठूला आयोजना बनाउने हिम्मत गर्ने?

    हामीलाई अब गाउँ–गाउँमा भ्यू–टावर होइन, उत्पादनलाई बजारसम्म पुर्‍याउने व्यवस्थित कृषि सडक र मुटु कमाउने गरी हुने सडक दुर्घटना न्यूनीकरण गर्ने आधुनिक इन्जिनियरिङ चाहिएको छ। अन्तर्राष्ट्रिय स्तरको सडक सञ्जाल, आधुनिक विमानस्थल र दिगो जलविद्युत आयोजनाहरू निर्माणका लागि 'फास्ट ट्र्याक' कानुन बनाउन तपाईँहरू तयार हुनुहुन्छ?

    नीतिगत स्थिरता र साझा दृष्टिकोण

    लगानीकर्ता र निर्माण व्यवसायीहरू डराउने एउटै कुरासँग हो  नीतिगत अस्थिरता। सरकार फेरिएपिच्छे पुँजीबजारको नीति बदलिने र मन्त्री फेरिएपिच्छे पूर्वाधारका ठेक्का र प्राथमिकता बदलिने प्रवृत्तिले देशलाई कङ्गाल बनाउँदै छ।

    त्यसैले, सबै राजनीतिक दलहरूलाई मेरो विनम्र अपील छ– देशको अर्थतन्त्र र विकासका मुद्दामा एउटा 'न्यूनतम साझा सहमति' बनाउनुहोस्। पुँजीबजारलाई राजनीतिक दाउपेचभन्दा माथि राख्नुहोस्। पूर्वाधार निर्माणलाई 'कमिसनको खेल' भन्दा माथि उठाएर राष्ट्रिय गौरवको विषय बनाउनुहोस्।

    अन्तमा, ६० लाख  भन्दा बढी लगानीकर्ता र ३ करोड नेपालीको भविष्य तपाईँहरूको आर्थिक दृष्टिकोणमा टिकेको छ। भाषणमा 'समाजवाद' र 'समृद्धि' को नारा घन्काउन सजिलो छ, तर त्यसलाई पुँजीबजारको विकास र पूर्वाधारको गुणस्तरमा उतार्न कठिन छ। के तपाईँहरू यो कठिन तर अनिवार्य बाटो हिँड्न तयार हुनुहुन्छ?

    आउने दिनमा तपाईँहरूको व्यवहार र नीतिले नै यो प्रश्नको उत्तर दिनेछ। जनताले अब आश्वासन होइन, परिणाम खोजिरहेका छन्। 

    कँडेल शेयर बजार लगानीकर्ता हुन

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend