श्रम आफैँमा ठूलो वा सानो हुँदैन। मानिसले गर्ने कामको मूल्य त्यसको बाहिरी स्वरूपले होइन, समाज र राष्ट्रमा त्यसले पुर्याउने योगदानले निर्धारण गर्छ। कसैसँग शारीरिक श्रम गर्ने क्षमता हुन्छ, कसैसँग बौद्धिक श्रम गर्ने, कसैसँग सीप तथा प्रविधिको ज्ञान हुन्छ भने कसैसँग व्यवस्थापन, नेतृत्व वा सिर्जनशीलताको क्षमता हुन्छ। हरेक व्यक्तिमा फरक–फरक क्षमता र दक्षता हुन्छ र त्यही क्षमताका आधारमा उसले आफ्नो श्रम समाजमा समर्पित गर्छ। त्यसैले सभ्य र समृद्ध समाजले सबै प्रकारका श्रमलाई समान सम्मान गर्न सिक्नुपर्छ।
आज आम नेपालीले सबैभन्दा पहिले बुझ्नुपर्ने सत्य यही हो,श्रमबिना देश बन्दैन। देशको विकास भाषण, आश्वासन र नाराले मात्र सम्भव हुँदैन। विकासका लागि पसिना बगाउनुपर्छ, उत्पादन गर्नुपर्छ, उद्योग सञ्चालन गर्नुपर्छ, खेतबारीमा अन्न फलाउनुपर्छ, सडक तथा पूर्वाधार निर्माण गर्नुपर्छ र ज्ञान, सीप तथा प्रविधिलाई उत्पादनसँग जोड्नुपर्छ।
हामीले श्रमलाई सम्मान गर्ने संस्कृतिको विकास गर्न सकेनौँ भने समृद्धिको सपना नारामै सीमित हुनेछ। काम गर्ने मानिसलाई हेय दृष्टिले हेर्ने, हातमा कलम हुनेलाई मात्र सम्मान गर्ने र हातमा औजार हुनेलाई कम मूल्याङ्कन गर्ने प्रवृत्तिले समाजलाई बलियो होइन, कमजोर बनाउँछ।
किसानले उत्पादन गरेको अन्नदेखि मजदुरले निर्माण गरेको भवनसम्म, शिक्षकले दिएको ज्ञानदेखि वैज्ञानिकले गरेको अनुसन्धानसम्म हरेक श्रम राष्ट्र निर्माणको महत्वपूर्ण आधार हो। चालक, सफाइकर्मी, प्राविधिक, स्वास्थ्यकर्मी, निर्माण मजदुर, उद्यमी, शिक्षक, किसान र वैज्ञानिक सबैको श्रमले समाजलाई अघि बढाइरहेको हुन्छ। त्यसैले श्रमको सम्मान गर्नु भनेको श्रमिकको मात्र सम्मान गर्नु होइन, राष्ट्र निर्माणको आधारको सम्मान गर्नु हो।
श्रम ठूलो–सानो होइन, क्षमता र दक्षता ठूलो हो
कुनै पनि कामलाई ठूलो वा सानो भनेर वर्गीकरण गर्नु उचित हुँदैन। ठूलो कुरा त मानिससँग भएको क्षमता, सीप, दक्षता र कामप्रतिको इमानदारी हो। जसले जुन काम राम्रोसँग गर्न सक्छ, उसले त्यही कामलाई सम्मानका साथ गर्नुपर्छ। आफ्नो पेशा र श्रमप्रति गर्व गर्ने संस्कार विकास गर्नुपर्छ।
हाम्रो सामाजिक सोचमा अझै पनि केही कामलाई प्रतिष्ठित र केही कामलाई तल्लो दर्जाको मान्ने प्रवृत्ति छ। यही मानसिकता परिवर्तन गर्न आवश्यक छ। कामको प्रकारले होइन, काम गर्ने व्यक्तिको इमानदारी, दक्षता र योगदानले उसको सम्मान निर्धारण हुनुपर्छ।
श्रमको संस्कार विद्यालयदेखि नै
श्रमप्रतिको सम्मान विद्यालय तहदेखि नै विकास गर्न आवश्यक छ। बालबालिकालाई किताब र परीक्षामा मात्र सीमित शिक्षा दिएर पुग्दैन। शिक्षालाई जीवन र उत्पादनसँग जोड्नुपर्छ।
विद्यालयमै श्रमको सम्मान, सीप, कृषि, उद्यमशीलता, सरसफाइ, वातावरण संरक्षण, उत्पादन र सामुदायिक सेवाजस्ता विषयलाई व्यवहारसँग जोडेर सिकाउनुपर्छ। विद्यार्थीले आफ्नै हातले केही उत्पादन गर्न सिकून्, श्रम गर्न लाज नमानून् र श्रम गर्ने मानिसप्रति सम्मान गर्न सिकून्।
शिक्षाको उद्देश्य केवल जागिर खोज्ने जनशक्ति उत्पादन गर्नु होइन; काम सिर्जना गर्न सक्ने, उत्पादन गर्न सक्ने र समाजप्रति जिम्मेवार नागरिक निर्माण गर्नु पनि हो।
श्रमदान : समाज परिवर्तनको आधार
श्रमको सम्मानसँगै श्रमदानको संस्कार पनि विकास गर्नुपर्छ। आफ्नो व्यक्तिगत फाइदाका लागि मात्र होइन, समुदायको हितका लागि आफ्नो समय, सीप र श्रम दिन सक्नु समाजप्रतिको जिम्मेवारी हो।
बाटो निर्माण, खानेपानीका मुहान संरक्षण, विद्यालय तथा सार्वजनिक स्थलको सरसफाइ, वृक्षरोपण, वातावरण संरक्षण तथा विपद्का समयमा उद्धारजस्ता काममा सामूहिक श्रमदानले ठूलो परिवर्तन ल्याउन सक्छ।
नेपाली समाजमा सामूहिक श्रमको परम्परा नयाँ होइन। गाउँघरमा बाटो, कुलो, चौतारा, विद्यालय तथा अन्य सार्वजनिक संरचना निर्माण गर्दा मानिसहरू एकजुट भएर काम गर्ने चलन थियो। त्यही पुरानो सामूहिक भावनालाई आधुनिक आवश्यकतासँग जोड्दै आजको पुस्ताले श्रमदानलाई नयाँ सामाजिक संस्कृतिका रूपमा अघि बढाउनुपर्छ।
सम्भावना होइन, उत्पादनले देश समृद्ध बनाउँछ
नेपाल प्राकृतिक स्रोत र सम्भावनाले भरिपूर्ण देश हो। जल, जमिन, जंगल, जडीबुटी र जनशक्ति हाम्रो ठूलो सम्पत्ति हो। तर सम्भावना भएर मात्र देश समृद्ध हुँदैन। सम्भावनालाई उत्पादनमा बदल्न श्रम, सीप, प्रविधि, पूँजी र सही व्यवस्थापन आवश्यक हुन्छ।
बाँझो जमिनलाई उत्पादनशील बनाउन श्रम चाहिन्छ। खोलानालाबाट ऊर्जा उत्पादन गर्न श्रम र प्रविधि चाहिन्छ। जडीबुटीको संरक्षण तथा प्रशोधन गर्न श्रम चाहिन्छ। उद्योग स्थापना गर्न श्रम चाहिन्छ। कृषि आधुनिकीकरणदेखि पर्यटन विकाससम्म हरेक क्षेत्रमा श्रम आवश्यक छ।
त्यसैले अब हामीले एउटा कुरा गम्भीर रूपमा सोच्नुपर्छ
“गफ जोतेर देश बन्दैन, बाँझिएको खेतबारी जोतौँ; देश आफैँ बन्छ।”
आफ्नै खेतबारीमा उत्पादन बढाउन सके आयात घटाउन सकिन्छ। स्वदेशी उत्पादन बढाउन सके परनिर्भरता कम गर्न सकिन्छ। उत्पादन बढेपछि रोजगारी सिर्जना हुन्छ, आम्दानी बढ्छ र अर्थतन्त्र बलियो हुन्छ।
युवाको श्रम देशमै प्रयोग गर्ने वातावरण
नेपालको सबैभन्दा ठूलो शक्ति हाम्रो युवा जनशक्ति हो। तर ठूलो संख्यामा युवाहरू रोजगारी र अवसरको खोजीमा विदेश जान बाध्य छन्। युवालाई दोष दिएर मात्र यो समस्या समाधान हुँदैन। देशभित्रै रोजगारी, उद्यमशीलता, सीप विकास, उत्पादनमूलक उद्योग तथा कृषि क्षेत्रमा लगानीका अवसर सिर्जना गर्नुपर्छ।
युवाले आफ्नो श्रम, सीप र जवानी आफ्नै देशमा प्रयोग गर्न सक्ने वातावरण निर्माण गर्नु राज्य र समाज दुवैको जिम्मेवारी हो।
विदेश जानु आफैँमा गलत होइन। जहाँ अवसर पाइन्छ, त्यहाँ श्रम गर्नु सम्मानजनक कुरा हो। तर आफ्नै देशमा अवसर सिर्जना गर्न सक्ने अवस्था निर्माण गर्नु अझ ठूलो उपलब्धि हो। त्यसका लागि उत्पादन, उद्यम र श्रमलाई सम्मान गर्ने आर्थिक तथा सामाजिक वातावरण आवश्यक छ।
श्रमबाटै स्वावलम्बनको बाटो
श्रम, स्वावलम्बन र उत्पादन एकअर्कासँग जोडिएका विषय हुन्। आफ्नै माटोमा श्रम गर्ने, आफ्नै देशमा उत्पादन गर्ने र आफ्नै समाजलाई समृद्ध बनाउने सोच स्वावलम्बनको आधार हो।
श्रम पिता हर्क राज राईले अघि सारेको हर्कवादको मूल भावलाई पनि श्रम, स्वावलम्बन, उत्पादन र आफ्नै माटोसँग जोडिएको जीवनतर्फ उन्मुख हुने सोचका रूपमा बुझ्न सकिन्छ। यसको सार व्यवहारमा उतार्न सकियो भने व्यक्ति, परिवार, समाज र राष्ट्रबीचको सम्बन्ध अझ बलियो बन्न सक्छ।
हाम्रो समाजको अर्को सुन्दर पक्ष भनेको सामूहिकता र आत्मीयता हो। हजुरबादेखि नातिसम्म एउटै छानामुनि बसेर खाना बाँड्ने, दुःख–सुखमा एकअर्कालाई साथ दिने र सामूहिक रूपमा काम गर्ने परम्परा नेपाली समाजको महत्वपूर्ण सम्पत्ति हो। आधुनिकता र विकासको नाममा हामीले यस्ता सामाजिक सम्बन्ध, सहकार्य र सामूहिक श्रमको संस्कार गुमाउनु हुँदैन।
अब श्रमलाई सम्मान गर्ने समय हो
देश समृद्ध बनाउने जिम्मेवारी सरकारको मात्र होइन। सरकारले नीति, पूर्वाधार र अवसर सिर्जना गर्नुपर्छ; निजी क्षेत्रले लगानी र रोजगारी सिर्जना गर्नुपर्छ; नागरिकले आफ्नो ठाउँबाट उत्पादन र श्रममा योगदान गर्नुपर्छ। यी तीनै पक्षबीचको सहकार्यले मात्र समृद्धिको आधार तयार हुन्छ।
अब हामीले श्रमलाई सम्मान गर्ने, श्रमिकलाई प्रोत्साहन गर्ने र उत्पादनलाई प्राथमिकता दिने संस्कृति निर्माण गर्नुपर्छ। किसानले आफ्नो खेतमा गरेको श्रम, मजदुरले निर्माणस्थलमा गरेको श्रम, शिक्षकले कक्षाकोठामा गरेको श्रम, वैज्ञानिकले प्रयोगशालामा गरेको श्रम र उद्यमीले उद्योगमा गरेको श्रम,यी सबै राष्ट्र निर्माणका समान रूपमा महत्वपूर्ण पाटा हुन्।
जहाँ श्रमको सम्मान हुन्छ, त्यहाँ उत्पादन बढ्छ। जहाँ उत्पादन बढ्छ, त्यहाँ रोजगारी सिर्जना हुन्छ। जहाँ रोजगारी र उत्पादन बढ्छ, त्यहाँ आत्मनिर्भरता बलियो हुन्छ। अनि जहाँ आत्मनिर्भरता बलियो हुन्छ, त्यहीँबाट समृद्ध राष्ट्रको निर्माण हुन्छ।
त्यसैले अब समय आएको छ,श्रमलाई सम्मान गरौँ, श्रम गर्ने हातलाई प्रोत्साहन गरौँ, उत्पादनलाई प्राथमिकता दिऔँ र आफ्नै माटोमा सम्भावनाको खोजी गरौँ।

