२०८३, भाद्र ४ गते

images
  • ब्लग
  • विश्वविद्यालय फेर भन्ने भिसीलाई स्ववियू नेताको...

विश्वविद्यालय फेर भन्ने भिसीलाई स्ववियू नेताको प्रश्नै प्रश्न

विश्वविद्यालय फेर भन्ने भिसीलाई स्ववियू नेताको प्रश्नै प्रश्न

images
मंगलवार, श्रावण २६ २०८३०९:३८
मंगलवार, श्रावण २६ २०८३०९:३८
  • उपकुलपति ज्यू नमस्कार।

    कक्षामा नियमित उपस्थित नहुने र परिक्षा दिनका लागि मात्रै आउने विद्यार्थीलाई त्रिभुवन विश्वविद्यालयमा नआउन र खुल्ला विश्वविद्यालयमा जान यहाँले दिनुभएको आदेशउपर केही भन्न मन लागेको छ।

    यो कुरामा दुईमत छैन कि हरेक विद्यार्थी कक्षामा उपस्थित हुनुपर्छ र परीक्षा दिन मात्र विश्वविद्यालय आउने प्रवृत्ति उचित होइन।  यस अर्थमा तपाईंले उठाउनुभएको कुरा यहाँसम्म सही नै छ। तर विद्यार्थीमाथि दोष थोपरेर जसरी त्रिवीबाटै बाहिरिन फर्मान जारी गर्नुभएको छ। त्यो चाहीँ गम्भीर छ।

    वास्तवमा जुनसुकै उपकुलपति आउँदा पनि त्रिभुवन विश्वविद्यालय नबन्नुमा पहिलो जिम्मेवार विद्यार्थीलाई नै बनाउँछन् । यो नौलो विषय रहेन । तर विद्यार्थीलाई कक्षामा नियमित बनाउनु आफ्नो प्रमुख जिम्मेवारी हो भन्ने कुरा चाहीँ भिसीहरुले भुसुक्कै बिर्सिन्छन् कि बिर्सिएजस्तो गर्छन्, थाहा छैन।

    उपकुलपतिज्यूलाई एउटा प्रश्न गम्भीर रूपमा सोध्न चाहन्छु ।  विश्वविद्यालयमा नियमित रुपमा आउने, आउन खोज्ने र पढ्न खोज्ने विद्यार्थीहरु कक्षा समयमा कक्षा कोठामा भन्दा पुस्तकालयतिर किन बढि छिर्न खोजेका होलान् । कक्षाको पढाइप्रति विद्यार्थीको मोहभंग किन हुँदैछ र शिक्षकभन्दा पुस्तकालय किन उनीहरुको रोजाइ बनेको छ ?  के तपाइँले यस बारेमा ख्याल गर्नु भएको छ ?

    आफ्नो एकेडेमिक पाठ्यक्रम पढ्न विश्वविद्यालय आएको विद्यार्थीको भीड पुस्तकालयमा किन हुन्छ ? अनि नियमित आउने विद्यार्थी हुँदाहुँदै पनि कक्षाहरु चाहीँ किन खाली हुन्छन् ?

    अझ पुस्तकालयमा पनि विश्वविद्यालयका किताबभन्दा लोकसेवा तयारीका किताब पढ्ने विद्यार्थीको भीड किन धेरै हुन्छ ?

    के यसरी पुस्तकालयमा बसेर पढ्नुमा पनि विद्यार्थीकै दोष छ ?  यसमा हाम्रो उच्च शिक्षा नीति जिम्मेवार हो भन्ने तपाइँलाई लाग्दैन ?  हाम्रो उच्च शिक्षा नीतिले विद्यार्थीलाई सक्षम प्राज्ञिक व्यक्ति, शोधकर्ता, नवप्रवर्तनकर्ता र व्यवसायिक बनाउने लक्ष्य राख्नुको साटो किन केवल जबरजस्त एउटा उपाधि हातमा थमाएर धपाउने काम मात्रै गरेको छ?

    आज त्रिभुवन विश्वविद्यालयका कति विद्यार्थीले वास्तविक अनुसन्धान/शोध  गर्न पाएका छन्?

    कति विद्यार्थीले नवप्रवर्तन गर्न पाएका छन्? कति वटा क्याम्पसमा अनुसन्धान, इन्नोभेसन तथा नीति ल्याबको अवधारणा छ?

    हामीले पाठ्यक्रमको सिद्धान्तलाई व्यवहारिक सीपसँग जोड्ने कसरी र कहिले हो भन्ने बारेमा के तपाइँको कुनै योजना छ ?  उच्च शिक्षालाई  रोजगारीसँग जोड्ने बारेमा के नीति लिनुभएको छ?

    विद्यार्थीले विश्वविद्यालयबाट केवल सर्टिफिकेट होइन कम्पिटेन्स  लिएर निस्कने वातावरण कहिले बनाउने?

    अर्को महत्वपूर्ण प्रश्न पनि तपाइँसँग राख्न चाहन्छु। त्रिविमै भविष्य बनाउन चाहनेहरुका लागि त्रिवि सेवा आयोगको ओ एण्ड एम सर्भे कहिले सम्पन्न गर्नुहुन्छ ? विश्वविद्यालयलाई जनशक्ति, संरचना र सेवा प्रवाहका हिसाबले व्यवस्थित बनाउनुपर्ने विषयमा कहिले बोल्नुहुन्छ ?

    हामीलाई त्रिविलाई आंशिक रूपमा होइन, पूर्ण रूपमा शोध, नवप्रवर्तन र उद्यमशीलता तथा नीति उन्मुख विश्वविद्यालय  बनेको हेर्न मन छ। के यस्तो आकांक्षा राख्नु पनि विद्यार्थीकै दोष हो त ?

    उपकुलपति ज्यू, विद्यार्थीलाई प्रविधिसँग जोड्ने, विश्वविद्यालयलाई प्रविधिमैत्री बनाउने कुरा त्रिवि भिजन २०३० मा उल्लेख छ। तर कक्षामा आउन नसकेको विद्यार्थीलाई खुल्ला विश्वविद्यालयमा जाउ  भनेर दुत्कार्दै हुनुहुन्छ।

    यदि तपाइँले ODEC अथवा Open and Distance Learning मा जाउ भन्नेको भए पचाउन सकिन्थ्यो। तर तपाईंले त सिधैं विश्वविद्यालय नै  फेर्न लगाइदिनु भयो ।

    कक्षा नआउने विद्यार्थी लाई खुल्ला विश्वविद्यालयमा जान भन्दै गर्दा त्रिभुवन विश्वविद्यालयका  कक्षाकोठामा जुत्ता–चप्पल घोटेर पढिरहेका विद्यार्थीहरूले  हामीले गुणस्तरीय शिक्षा किन पाएनौँ? भनेर प्रश्न गरे भने तपाइँ के जवाफ दिनुहुन्छ ?  के उनीहरूलाई केयूतिर जाउ भन्ने हो ?  कि टियूमै गुणस्तरीय शिक्षा दिने वातावरण बनाउने उपकुलपति ज्यू?

    मेरो बुझाइमा समस्या विद्यार्थी मात्र होइन। समस्या नेतृत्वमा पनि छ, उच्च शिक्षा नीतिमा छ, संरचनामा पनि छ र हाम्रो कार्यशैलीमा पनि छ।

    एकपटक हरेक क्याम्पसका स्ववियु सभापति तथा विद्यार्थी प्रतिनिधिलाई पार्टीगत संकूचित सोचभन्दा माथि उठाएर विश्वविद्यालय सुधारको साझेदारका रूपमा राखेर हेर्नुस्। उनीहरूलाई केवल आन्दोलन, नाराबाजी र विरोधसँग जोडेर नहेर्नुस्। तपाइँमा साँच्चिकै टियू बनाउने हुटहुटी छ भने संवाद गर्नुस् । तपाईं शिक्षा मन्त्रालय धाइरहनै पर्दैन।  विद्यार्थी बिना त्रिवि दिवस मनाइरख्नु पनि पर्दैन भिसी साहेब।
    तपाईंले चाहनुभयो भने विद्यार्थी नेताहरूले नै हरेक क्याम्पसका कमजोरी, समस्या र सुधार गर्नुपर्ने क्षेत्रको सूची तपाईंलाई देखाइदिन सक्छन्। क्याम्पस प्रमुखले विविध कारणले देख्न नसकेका धेरै विषय विद्यार्थी प्रतिनिधिले दैनिक जीवनबाट देखिरहेका हुन्छन्।

    यस्ता विषय धेरै छन् । यी शव्दहरु त तपाइँको एउटा छोटो क्लिप हेरेपछि लेख्न मन लागेर कोरिएका मात्र हुन्।

    हामी विद्यार्थी नेतृत्व तपाईंहरू जस्तो विज्ञ प्राध्यापक होइनौँ।  नामको अगाडि डाक्टर लागेको पनि छैन।  तर विश्वविद्यालयको एउटा विद्यार्थीका रूपमा विद्यार्थी प्रतिनिधि को नाताले मैले देखेको र बुझेको विश्वविद्यालयका केही अंशबारे मात्र लेखेको हुँ। यो केवल कटाक्ष मात्र होइन । यस विषयमा सार्वजनिक रुपमै टियूका समस्याको पहिचान र त्यसको समाधानको सुत्र समेत बताउन सक्दछु। तपाईं नयाँ TU मा हुनुहुन्छ, उच्च शिक्षामा होइन। हामी आशावादी छौँ। TU लाई बनाउनुहोस्, साँच्चिकै बनाउनुहोस्।

    उपकुलपतिज्यू टियूका ५ लाख विद्यार्थी मात्र देखेर गर्व नगर्नुहोस्। हुनत संसारमा यतिधेरै विद्यार्थी भएका विश्वविद्यालय साँच्चिकै औँलामा गन्न सकिने मात्र छन्। तर यति भिमकाय विश्वविद्यालयमा अन्तर्राष्ट्रिय विद्यार्थीको एक्सपोजर कति छ? टियूमा अन्तर्राष्ट्रिय शैक्षिक सहकार्य कति छ ? विद्यार्थी आदानप्रदान कार्यक्रमको अवधारणा किन फस्टाएन ? रिसर्च आउटपुट किन दयनीय छ ? राज्य संयन्त्रले टियूका विज्ञ, शोधकर्ता तथा प्राध्यापकको  विषयविज्ञतालाई किन नीति निर्माणमा भाउ दिँदैन ? टियूबाट दिक्षितहरुको शैक्षिक बेरोजगारी किन उच्च छ ? विश्वविद्यालय-उद्योग/श्रमबजारको सम्बन्ध किन कमजोर छ ? यी प्रश्नहरूका उत्तर खोज्नुपर्छ।

    नयाँ नेतृत्वको रुपमा टियूलाई अगाडि बढाउन आउनुभएको तपाईंको जिम्मेवारी उच्च शिक्षाको भविष्य निर्माण गर्ने नेतृत्वको रुपमा रहनुपर्छ। यसका लागि विश्वविद्यालयबाट सबै थरिका फूल फुल्न सक्ने र प्रतिभा प्रस्फुटन हुनसक्ने बगैँचा बनाउनुस् ।

    रिसर्च, इन्नोभेसन, एकेडेमिक फ्रिडम र ग्लोबल एक्सपोजरका हिसाबले हामी निकै निरिह बन्नुपरेको छ। यसमा पहिलाको राजनीतिक हस्तक्षेप तथा राजनीतिक नियुक्तिलाई मात्रै कसरी दोष दिउँ ?

    त्यसरी नियुक्त भएकाहरु पनि त प्रा. डा हरु नै थिए।

    अन्त्यमा निश्चित रुपमा विश्वविद्यालयका विद्यार्थीमा अनुशासन चाहिन्छ, कक्षामा नियमितता पनि चाहिन्छ।

    तर त्यसभन्दा पहिले विद्यार्थीलाई विश्वविद्यालयमा आकर्षित गर्ने प्राज्ञिक वातावरणको खाँचो पर्छ।  विद्यार्थीलाई केवल “कक्षामा आऊ” भन्नुभन्दा पहिले विश्वविद्यालयले भन्न सक्नुपर्छः आऊ, यहाँ पढ्ने वातावरण छ।  आऊ, यहाँ अनुसन्धान गर्ने अवसर छ। आऊ, यहाँ नवप्रवर्तन गर्ने ठाउँ छ। आऊ, यहाँ सीप सिकिन्छ। आऊ, यहाँ भविष्य बनाउने आधार पाइन्छ।

    उपकूलपतिज्यू, हामीलाई केवल कडा भिसी चाहिएको होइन। दूरदर्शी, संवादशील, अनुसन्धानमुखी, विद्यार्थीमैत्री र परिणाम दिन सक्ने नेतृत्व चाहिएको हो। टियू रुपान्तरणमा एल्गोरिदम तान्ने अभिव्यक्ति भन्दा रूपान्तरणमुखी योजना तर्जुमा र कार्यान्वयन गर्नतर्फ अग्रसर हुनुहोस् भन्ने शुभेक्षा प्रकट गर्दछ।  

    तिवारी जनप्रशासन क्याम्पसका स्ववियु सभापति हुन्

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend