२०८३, आश्विन १९ गते

images
  • खेलकुद
  • टी–२० विश्वकप २०२६: इटलीको डेब्यु, नेपालको...

टी–२० विश्वकप २०२६: इटलीको डेब्यु, नेपालको लक्ष्य इतिहास

टी–२० विश्वकप २०२६: इटलीको डेब्यु, नेपालको लक्ष्य इतिहास

आइतवार, माघ १८ २०८२१२:३६
आइतवार, माघ १८ २०८२१२:३६
  • images

    काठमाडौं । भारत र श्रीलंकामा आयोजना हुने आईसीसी पुरुष टी–२० विश्वकप २०२६ मा ८ एसोसिएट राष्ट्रले प्रतिस्पर्धा गर्ने भएका छन्। तीमध्ये इटलीले पहिलो पटक टी–२० विश्वकप खेल्दै ऐतिहासिक डेब्यु गर्नेछ। यस विश्वकपमा स्थान बनाएका एसोसिएट टोलीहरूको छनोट यात्रा र प्रमुख खेलाडीहरूबारे यहाँ संक्षेपमा प्रस्तुत गरिएको छ। लेखको सुरुवात विश्वकपमा पहिलो पटक देखिन लागेको टोली इटलीबाट गरिएको छ।

    इटली : फुटबलको देश, क्रिकेटमा नयाँ इतिहास

    फुटबलका लागि विश्वभर परिचित इटली पछिल्ला वर्षहरूमा फिफा विश्वकप छनोटमा संघर्ष गरिरहेको छ। तर क्रिकेटमा भने इटलीले नयाँ इतिहास रचेको छ। इटलीले युरोपियन सब–रिजनल छनोटमा फ्रान्स, आइल अफ म्यान, लक्जेम्बर्ग र टर्की रहेको समूहमा शीर्ष स्थान हासिल गर्दै घरेलु मैदानमा रोमानियालाई फाइनलमा पराजित गरेको थियो।

    त्यसपछि आईसीसी पुरुष टी–२० विश्वकप युरोप रिजनल छनोटमा स्कटल्यान्डलाई हराएको इटली अन्तिम खेलमा नेदरल्याण्ड्ससँग पराजित भए पनि रनरेटको आधारमा दोस्रो स्थानमा रहँदै विश्वकपको टिकट काट्न सफल भयो। वायन म्याड्सेनको कप्तानीमा रहेको टोलीमा दक्षिण अफ्रिकाका पूर्व खेलाडी जेजे स्मट्स समावेश छन्। इटली समूह ‘सी’ मा इंग्ल्यान्ड, नेपाल, स्कटल्यान्ड र वेस्ट इन्डिजसँग प्रतिस्पर्धा गर्नेछ।

    क्यानडा : निरन्तरताको खोजी

    सन् २०२४ मा पहिलो पटक टी–२० विश्वकप खेलेको क्यानडाले त्यस संस्करणमा फुल मेम्बर आयरल्यान्डलाई हराउँदै चर्चा कमाएको थियो। अमेरिका रिजनल छनोटमा सबै ६ खेल जित्दै क्यानडाले पुनः विश्वकपमा स्थान बनाएको हो। समूह ‘डी’ मा क्यानडा अफगानिस्तान, न्युजिल्यान्ड, दक्षिण अफ्रिका र यूएईसँग छ। शिवम शर्माले छनोटमा ११ विकेट लिएर सर्वाधिक विकेट लिने खेलाडी बनेका थिए भने २२ वर्षीय कप्तान दिलप्रीत बाजवा पनि हेर्नलायक खेलाडी हुन्।

    नामिबिया : अफ्रिकाको स्थिर शक्ति

    नामिबियाले लगातार चौथोपटक टी–२० विश्वकप खेल्न लागेको हो। अफ्रिका रिजनल छनोटमा जिम्बाब्वेसँगै विश्वकपमा स्थान बनाएको नामिबियाले सेमिफाइनलमा तान्जानियालाई हराउँदै योग्यता सुनिश्चित गरेको थियो। कप्तान जेरार्ड एरासमसको नेतृत्वमा जेजे स्मिट र जान निकोल लोफ्टी–इटन टोलीका मुख्य खेलाडी हुन्।

    नेपाल : तेस्रो सहभागितामा ऐतिहासिक लक्ष्य

    नेपालले एसिया–इएपी रिजनल छनोटमा अपराजित रहँदै टी–२० विश्वकपमा स्थान बनाएको हो। समूह चरणमा जापान र कुवेतलाई हराएको नेपालले सुपर सिक्समा युएईलाई १ रन र कतारलाई ५ रनले पराजित गर्दै शीर्ष स्थानमा रह्यो। रोहित पौडेलको कप्तानी र दीपेन्द्र सिंह ऐरीको उपकप्तानीमा नेपाल तेस्रो पटक विश्वकप खेल्दैछ। समूह ‘सी’ मा रहेको नेपाल पहिलो पटक समूह चरण पार गर्ने लक्ष्यमा छ।

    नेदरल्याण्ड्स : एसोसिएटमध्ये अनुभवी

    युरोप रिजनल छनोट पार गर्दै नेदरल्याण्ड्सले सातौं पटक टी–२० विश्वकपमा स्थान बनाएको हो। स्कट एड्वार्ड्सको कप्तानीमा डच टोली समूह ‘ए’ मा भारत, पाकिस्तान, नामिबिया र अमेरिकासँग प्रतिस्पर्धा गर्नेछ।

    ओमान: अनुशासित क्रिकेटको प्रतीक

    ओमानले एसिया–इएपी छनोटको सुपर सिक्समा दोस्रो स्थान हासिल गर्दै चौथोपटक विश्वकप खेलेको हो। जतिन्दर सिंहको कप्तानीमा ओमान समूह ‘बी’ मा श्रीलंका, अष्ट्रेलिया, आयरल्यान्ड र जिम्बाब्वेसँग छ।

    स्कटल्यान्ड : वरीयताकै बलमा विश्वकप

    आईसीसी टी–२०आई वरीयताका आधारमा स्कटल्यान्डले बंगलादेशलाई प्रतिस्थापन गर्दै विश्वकपमा स्थान बनाएको हो। यो स्कटल्यान्डको सातौं टी–२० विश्वकप सहभागिता हो।

    यूएई : अन्तिम क्षणमा विश्वकप टिकट

    यूएईले एसिया–इएपी छनोटको सुपर सिक्समा तेस्रो स्थान हासिल गर्दै तेस्रो पटक टी–२० विश्वकपमा स्थान बनायो। अलिशान शराफुले छनोटमा सर्वाधिक २८३ रन बनाएका थिए।

    अमेरिका : घरेलु प्रदर्शनको इनाम

    सन् २०२४ को घरेलु विश्वकपमा ऐतिहासिक प्रदर्शन गरेपछि अमेरिकाले सिधै २०२६ संस्करणका लागि स्थान सुरक्षित गरेको हो। पाकिस्तानलाई हराउँदै सुपर एटसम्म पुगेको अमेरिका पुनः त्यही प्रदर्शन दोहोर्‍याउने लक्ष्यमा छ।

    (आईसीसीको आधिकारिक वेबसाइटमा प्रकाशित सामग्रीको आधारमा)

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend