२०८३, आश्विन २० गते

images
  • स्थानीय
  • ज्येष्ठ नागरिकलाई घरमै स्वास्थ्य सेवा दिने...

ज्येष्ठ नागरिकलाई घरमै स्वास्थ्य सेवा दिने तयारीमा काठमाडौं महानगर

ज्येष्ठ नागरिकलाई घरमै स्वास्थ्य सेवा दिने तयारीमा काठमाडौं महानगर

आइतवार, माघ १८ २०८२०१:०५
आइतवार, माघ १८ २०८२०१:०५
  • images

    काठमाडौं । काठमाडौं महानगरपालिकाले ७० वर्षमाथिका ज्येष्ठ नागरिकलाई घरमै आधारभूत स्वास्थ्य सेवा दिने तयारी थालेको छ। यसका लागि महानगरले आइतबारदेखि ज्येष्ठ नागरिकको स्वास्थ्य अवस्थासम्बन्धी सर्वेक्षण सुरु गरेको छ।

    ज्येष्ठ नागरिकहरूलाई घरमै आधारभूत स्वास्थ्य सेवा कार्यक्रमकी संयोजक कल्पना श्रेष्ठका अनुसार महानगरका ३२ वटै वडामा रहेका सहरी स्वास्थ्य प्रवर्द्धन केन्द्रमा कार्यरत नर्सहरू सर्वेक्षणमा खटिएका छन्। उनीहरूलाई घरघरमा पठाउनुअघि वीर अस्पतालबाट चार दिने अभिमुखीकरण तालिम दिइसकिएको छ।

    सर्वेक्षणका क्रममा एक जना नर्स र एक जना समुदाय स्वास्थ्य स्वयंसेविका घरघरमा पुग्नेछन्। स्वास्थ्य जाँचमा रक्तचाप, शरीरको तापक्रम, श्वासप्रश्वास, अक्सिजन स्याचुरेसन लगायत आधारभूत सूचकहरूको परीक्षण गरिनेछ।

    नर्सहरूले ज्येष्ठ नागरिकको स्वास्थ्य इतिहाससमेत संकलन गर्नेछन्। हाल सेवन गरिरहेका औषधि, औषधि सुरक्षित रूपमा राखिएको छ कि छैन, बसोबासको सरसफाइ, पौष्टिक आहारको अवस्था तथा दृष्टि–श्रवण क्षमतासमेत अवलोकन गरिनेछ।

    पहिलो चरणको स्वास्थ्य स्क्रिनिङपछि आवश्यक परे सहरी स्वास्थ्य प्रवर्द्धन केन्द्रबाट उपचार गराइनेछ। त्यहाँबाट सम्भव नभए चिकित्सकको सल्लाहमा वीर अस्पतालमा रिफर गरिने महानगरले जनाएको छ।

    आर्थिक रूपमा कमजोर ज्येष्ठ नागरिकले उपचार खर्चको चिन्ता लिन नपर्ने पनि महानगरको भनाइ छ। यसअघि नै महानगरले ज्येष्ठ नागरिकका लागि एक लाख रुपैयाँसम्मको निःशुल्क स्वास्थ्य बीमा कार्यक्रम लागू गरिसकेको छ। बीमाबाट छुटेका ज्येष्ठ नागरिकका लागि घरमै पुगेका फोकल पर्सनले सहजीकरण गर्नेछन्।

    महानगरका अनुसार पहिलो चरणमा प्रत्येक वडामा दैनिक ५ देखि ७ जना ज्येष्ठ नागरिकको स्वास्थ्य स्क्रिनिङ गरिनेछ। यो कार्यक्रम जेठ महिनाको अन्तिमसम्म सञ्चालन गरिने योजना छ।

    कार्यवाहक मेयर सुनिता डंगोलले सर्वेक्षणमा खटिएका स्वास्थ्यकर्मीलाई संवेदनशील र मानवीय व्यवहारका साथ काम गर्न आग्रह गरिन्। उनले यो कार्यक्रम पदीय जिम्मेवारीभन्दा पनि सामाजिक सेवाको काम भएको बताइन्।

    यद्यपि, सहरी स्वास्थ्य प्रवर्द्धन केन्द्रमा अधिकांश ठाउँमा एक जना मात्र नर्स रहेकाले सबै घरधुरीमा पुग्न कठिनाइ हुन सक्ने संयोजक श्रेष्ठले बताइन्। तर, सर्वेक्षण सफल भए महानगरमा ज्येष्ठ नागरिकको संख्या र स्वास्थ्य अवस्थाबारे स्पष्ट तथ्यांक प्राप्त हुने र आगामी नीति तथा कार्यक्रम बनाउन सहयोग पुग्ने महानगरको विश्वास छ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend