२०८३, आश्विन १९ गते

images

सर्वोत्कृष्ट नतिजा हासिल गर्नेगरी कार्यसम्पादन गर्न सञ्चारमन्त्री गुरुङको निर्देशन

सर्वोत्कृष्ट नतिजा हासिल गर्नेगरी कार्यसम्पादन गर्न सञ्चारमन्त्री गुरुङको निर्देशन

आइतवार, भाद्र ३० २०८१०३:२५
आइतवार, भाद्र ३० २०८१०३:२५
  • images

    काठमाडौँ । सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले चालु आर्थिक वर्षका लागि तोकिएका वार्षिक लक्ष्यमा उत्कृष्ट नतिजा हासिल गर्नेगरी कार्यसम्पादन गर्न मन्त्रालय र मातहतका निकायलाई निर्देशन दिएका छन् । 

    चालु आर्थिक वर्ष २०८१÷८२ को कार्यसम्पादन सम्झौतापछि आइतबार मन्त्रालय र मातहतका निकायलाई निर्देशन दिदैँ सञ्चारमन्त्री गुरुङले सरकारको नीति तथा कार्यक्रम, वार्षिक बजेट, आवधिक योजनालगायतबाट निर्धारण भएका लक्ष्य प्राप्त गर्न उत्कृष्ट कार्यसम्पादनसहित सबैले आफ्नो जिम्मेवारी इमानदारिताका साथ पूरा गर्नुपर्ने बताएका हुन् । 

    मन्त्रालयमा एक औपचारिक कार्यक्रमबीच सञ्चारमन्त्री गुरुङ र सञ्चारसचिव राधिका अर्यालबीच कार्यसम्पादन सम्झौता भएको छ । त्यस्तै, सञ्चारसचिव अर्याल र मन्त्रालयका विभिन्न महाशाखा प्रमुख एवम् मन्त्रालय मातहतका निकायका प्रमुखहरुबीच कार्यसम्पादन सम्झौता भएको हो ।

    कार्यसम्पादन सम्झौतापछि मन्त्रालय र मातहतका कर्मचारीलाई निर्देशन दिदैँ सञ्चारमन्त्री गुरुङले भने, ‘निर्धारण भएका लक्ष्य तोकिएको लागत र समयभित्र सक्नका लागि सामुहिक रुपमा अघि बढ्नुपर्छ । एक जनाको प्रयास मात्रै पर्याप्त हुँदैन । सामुहिक प्रयासबाट हामी उत्कृष्ट कार्यसम्पादन गर्न सक्षम हुनेछौं ।’ 

    सरकारले पहिलो सय दिन, दोस्रो सय दिन र त्यसपछिको एक सय ६५ दिनको समीक्षा गर्नेगरी कार्यसम्पादन सम्झौता गरेको उल्लेख गर्दै सञ्चारमन्त्री गुरुङले अरु मन्त्रालयभन्दा सञ्चार मन्त्रालयको कार्यसम्पादन उत्कृष्ट साबित हुनेगरी काम गर्न निर्देशन दिए । 

        सो अवसरमा उनले नेपालको आफ्नै स्याटलाइट आवश्यक रहेको बताउँदै यसले मुलुकको विकास मापन गर्ने मापदण्डको रुपमा काम गर्ने उल्लेख गरे । ‘डिजिटल नेपाल फ्रेमवर्क’ को प्रभावकारी कार्यान्वयनका लागि पनि सञ्चारमन्त्री गुरुङले निर्देशन दिए । त्यस्तै, सुरक्षित मुद्रण (सेक्युरिटी प्रिन्टिङ)सम्बन्धी योजनलाई चालु आर्थिक वर्षभित्रै कार्यान्वयनमा लैजाने गरी काम गर्न उनको निर्देशन छ ।

    sanchar.jpg

    ‘सेक्युरिटी प्रिन्टिङको काम आफै गर्ने भनेर केही काम अघि बढेकोमा अहिले त्यतिकै रोकिएको छ । यो राष्ट्रिय सुरक्षाको कुरा पनि हो । बैंक नोट, हुलाक टिकट, राहदानी, अन्तःशुल्क स्टीकरलगायत छपाइका काम हामी आफै गर्नुपर्छ,’ गुरुङले भने ।

    सुरक्षित मुद्रण केन्द्रमा चाँडै नेतृत्व दिएर अर्को वर्षबाट सुरक्षित मुद्रणका आफैले गर्नसक्ने गरी व्यवस्था मिलाउन पनि उनले निर्देशन दिए । त्यस्तै, कृत्रिम बौद्धिकता (आर्टिफिसियल इन्टेलिजेन्स–एआई) सम्बन्धी कानुनी तथा प्राविधिक संयन्त्रको निर्माण र मुलुकको अर्थतन्त्रमा सूचना प्रविधि क्षेत्रको योगदान बढाउने गरी ‘डिजिटल इकोनोमी’को अवधारणालाई प्रभावकारी कार्यान्वयन गर्नुपर्ने आवश्यकता सञ्चारमन्त्री गुरुङले औँल्याए ।

    कार्यसम्पादन सम्झौतापछि सरकारी सञ्चारमाध्यामलाई थप प्रतिस्पर्धी र व्यावसायिक भएर काम गर्न उनले निर्देशन दिए । सरकार र मातहतका निकायबाट हुने प्रचारप्रसार र विज्ञापनसम्बन्धी कार्यमा सरकारी सञ्चारमाध्यामलाई प्राथमिकतामा राख्नेगरी योजना बनाईने पनि स्पष्ट पारे । 

    सरकारी सञ्चारमाध्यामको जनशक्ति पुनःसंरचना गर्ने र त्यस्ता संस्थाका कर्मचारीलाई तालिम दिने उद्देश्यले सञ्चार क्षेत्रको छुट्टै प्रतिष्ठान स्थापना गर्नेबारे आफू सकारात्मक रहेको पनि सञ्चारमन्त्री गुरुङको भनाइ छ । मन्त्रालय र मातहतका निकायबाट सम्पादन हुने कार्यका लागि आवश्यक पर्ने कानून निर्माणको काम यसैवर्षभित्र गरिसक्ने दाबी उनको छ ।

    सञ्चारमन्त्री गुरुङसँग कार्यसम्पादन सम्झौतापछि सञ्चारमन्त्री अर्यालले सरकार, मन्त्रालय र मातहतका निकायबाट चालु आर्थिक वर्षका लागि सम्पादन हुने भनि तोकिएका योजना तथा कार्यक्रमको लक्षित नतिजा हासिल गर्न सबैले आफ्नो जिम्मेवारी पूरा गर्नुपर्ने बताए ।

    ‘हामीले के प्राप्त गर्ने हो, तोकिएको समय र लागतको सीमाभित्र योजनावद्ध रुपमा काम गर्ने प्रतिबद्धता जनाएका छौँ’, सचिव अर्यालले भनिन, ‘कर्मचारीलाई उत्प्रेरित गर्दै तोकिएको समयभित्र लक्ष्य भेट्ने हो । कार्यसम्पादन मूल्याङ्कन भनेको सरकारको आवधिक योजाना, वार्षिक नीति तथा कार्यक्रम बजेटका योजना कार्यक्रमलाई तोकिएको समयसीमाभित्र सक्ने भनेर गरेर दिएको प्रतिबद्धता हो ।’ मन्त्रालयभित्र र अन्तरनिकाय समन्वय गर्दै काममा तीव्रता दिने उनको भनाइ छ ।

    कार्यसम्पादनका क्रममा समस्या देखिएमा समयमै जानकारी गराउन पनि सञ्चार सचिव अर्यालले निर्देशन दिईन ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend