काठमाडौँ । काठमाडौँ उपत्यकाको सुरुवाती न्यूनतम तापक्रम आज बुधबार ८ डिग्री सेल्सियसमा उक्लिएको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार बिहान ५:४५ बजे गरिएको मापनमा काठमाडौँको न्यूनतम तापक्रम ८.० डिग्री सेल्सियस देखिएको हो।
हिजो मंगलबार सोही समयमा काठमाडौँको न्यूनतम तापक्रम ६.१ डिग्री सेल्सियस रहेको थियो भने बिहान ८:४५ बजे मापन गर्दा ५.८ डिग्री सेल्सियस कायम भएको थियो। महाशाखाले काठमाडौँको आधिकारिक न्यूनतम तापक्रम बिहान ८:४५ बजे मापन गर्ने गर्दछ, जसअनुसार तापक्रम सुरुवाती मापनभन्दा केही घट्न सक्ने जनाएको छ।
यसैबीच, हाल नेपालमा पश्चिमी न्यूनचापीय प्रणालीको प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। यसको प्रभावले कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी तथा हिमाली भूभागमा सामान्यदेखि आंशिक बदली रहेको छ।
आज दिउँसो तराईका केही स्थानमा हुस्सु तथा कुहिरो लाग्ने सम्भावना छ भने कोशी, बागमती र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका एक–दुई स्थानमा हल्का हिमपातसहित वर्षा हुन सक्ने पूर्वानुमान गरिएको छ।
आज राति तराईका थोरै स्थानमा हुस्सु लाग्ने र पहाडी तथा हिमाली भूभागमा आंशिक बदली रहनेछ। कोशी र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली क्षेत्रका केही स्थानमा हल्का देखि मध्यम हिमपातसहित वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ।

