काठमाडौँ । भारत र श्रीलंकामा आयोजना हुन लागेको आइसीसी पुरुष टी–२० विश्वकप २०२६ अब एक साताभन्दा कम समय बाँकी छ। विश्वकप नजिकिँदै गर्दा नेपाली राष्ट्रिय क्रिकेट टोलीले तयारी तीव्र बनाएको छ।
श्रीलंकामा अभ्यासपछि टोली मुम्बई पुगेको छ। त्यहाँ पनि तयारी धमाधम भइरहेको छ। मुम्बईमा अभ्यास खेल सकेपछि नेपाली टोली चेन्नई पुगेर दुई औपचारिक अभ्यास खेल खेल्नेछ। पहिलो अभ्यास खेलमा नेपालले युएईलाई ७ विकेटले पराजित गरेको छ। दोस्रो अभ्यास खेल क्यानडासँग हुनेछ।
नेपाल यसअघि दुई पटक विश्वकप खेलेको छ। यसपटक नेपाली टोलीमा ५ खेलाडीले पहिलो पटक विश्वकपमा खेल्ने मौका पाएका छन्।
१. नन्दन यादव टी–२० टोलीमा पहिलो पटक परेका नन्दन यादव १२ वर्षपछि आफ्नो सपना पूरा गर्दै विश्वकप खेल्ने अवसरमा छन्। २०२५ मा हङकङको चार देशीय शृंखलामा कतारविरुद्ध टी–२० डेब्यु गरेका नन्दनले १२ खेलमा १५ विकेट लिएका छन्। ओडीआईमा तीन खेलमा ५ विकेट सहित १२ रन बनाएका उनले मुख्यतया पेस बलिङमा योगदान पुर्याउँछन्।
२. शेर मल्ल नेपाल प्रिमियर लिग ९एनपीएल० को दोस्रो संस्करणमा उत्कृष्ट प्रदर्शन गरेपछि शेर मल्लले विश्वकप टोलीमा स्थान बनाएका हुन्। एनपीएलको १० खेलमा उनले १७ विकेट लिएका थिए, र उनका बलिङ प्रदर्शनका कारण राष्ट्रिय टोलीमा छनोट भएका हुन्।
३. बसिर अहमद अलराउण्डर बसिर अहमद सन् २०२२ को अगस्टमा राष्ट्रिय टोलीमा डेब्यु गरेका थिए। बलिङ र ब्याटिङ दुवैमा सक्षम बसिरले टी–२० आईमा ७ खेलमा २ विकेट र १२३ रन बनाएका छन्। एनपीएलमा उत्कृष्ट प्रदर्शनपछि उनलाई विश्वकप टोलीमा समावेश गरिएको हो।
४. आरिफ शेख करीब ११ वर्षदेखि राष्ट्रिय टोलीमा खेल्दै आएका आरिफ शेख पहिलो पटक विश्वकपमा स्थान बनाएका हुन्। उनले टी–२० आईमा ५५३ रन बनाइसकेका छन् र बलिङमा ४ विकेट लिएका छन्। श्रीलंका र मुम्बईमा भएको अभ्यासले उनको विश्वकप तयारी थप बलियो बनाएको छ।
५. लोकेश बम २५ वर्षीय लोकेश बम टी–२० विश्वकपमा पहिलो पटक खेल्दै छन्। टोलीको दोस्रो रोजाइका विकेटकिपर र दायाँ हाते ब्याटर लोकेशले १८ टी–२० आई खेलमा १६० रन बनाइसकेका छन्।
आईसीसी टी–२० विश्वकप २०२६ खेल्ने नेपाली टोली
आरिफ शेख, आशिफ शेख, दीपेन्द्र सिंह ऐरी, बसिर अहमद, कुशल भुर्तेल, सन्दीप जोरा, लोकेश बम, रोहित पौडेल, गुल्सन झा, करण केसी, सोमपाल कामी, सन्दीप लामिछाने, शेर मल्ल, ललित राजवंशी, नन्दन यादव।

