काठमाडौं। भारतीय क्रिकेट टोलीका कप्तान सूर्यकुमार यादवले आगामी आईसीसी टी–२० विश्वकपमा पाकिस्तानसँग खेल्ने विषयमा कुनै अन्योल नरहेको स्पष्ट पारेका छन्। लामो समयदेखि राजनीतिक कारण देखाउँदै भारत–पाकिस्तानबीचको खेल हुने वा नहुने भन्ने बहस चलिरहेका बेला यादवको यो भनाइले सबै अड्कलबाजी अन्त्य गरेको छ।
बिहीबार मुम्बईमा सञ्चारकर्मीसँग कुरा गर्दै कप्तान यादवले भारत–पाकिस्तान खेल निश्चित भइसकेको र त्यसका लागि सम्पूर्ण तयारी अघि बढिसकेको बताए। “पाकिस्तानसँगको खेलका लागि हामी पूर्ण रूपमा स्पष्ट छौँ,” यादवले भने, “आईसीसी र बीसीसीआईको समन्वयमा तटस्थ स्थानमा खेल तय भएको छ।”
भारत सरकारले सुरक्षाका कारण देखाउँदै टोलीलाई पाकिस्तान पठाउन अस्वीकार गरेपछि प्रतियोगिता ‘हाइब्रिड मोडल’मा आयोजना हुने निर्णय भएको हो। सो निर्णयअनुसार पाकिस्तानमा हुने भनिएका भारतसँगका खेलहरू श्रीलंकाको कोलम्बोमा सारिएका छन्।
कप्तान यादवका अनुसार टोलीले पाकिस्तानसँगको खेलका लागि यात्रा योजना समेत तय गरिसकेको छ। “हामीले नखेल्ने भनेका छैनौँ। टोलीभित्र कुनै द्विविधा छैन,” उनले थपे, “फेब्रुअरी ७ को खेलपछि हामी दिल्ली जानेछौँ र त्यहाँबाट कोलम्बो जानका लागि टिकट पनि काटिसकेका छौँ।”
राजनीतिले छोएको क्रिकेट
पछिल्लो केही वर्षदेखि भारत र पाकिस्तानबीच द्विपक्षीय क्रिकेट श्रृंखला ठप्प छ। दुवै टोली हाल आईसीसी र एसीसीका बहुपक्षीय प्रतियोगितामा मात्र आमनेसामने हुँदै आएका छन्। यस पटकको टी–२० विश्वकपमा मैदानभित्रको प्रतिस्पर्धासँगै मैदानबाहिरको कूटनीति पनि चर्चामा छ।
भारतीय कप्तानको स्पष्ट अभिव्यक्तिपछि भारत सहभागी नहुने वा खेल रद्द हुने आशंका हटेको छ। फेब्रुअरीको दोस्रो साता कोलम्बोस्थित आर। प्रेमादासा रंगशालामा हुने भनिएको भारत–पाकिस्तान भिडन्तलाई लिएर विश्वभरका क्रिकेट समर्थक उत्साहित देखिएका छन्।
आईसीसी टी–२० विश्वकप माघ २४ गतेदेखि सुरु हुँदैछ।

