२०८३, आश्विन २० गते

images
  • समाचार
  • सरकारको स्वास्थ्य बीमा भुक्तानी नगरे ललितपुर...

सरकारको स्वास्थ्य बीमा भुक्तानी नगरे ललितपुर महानगरले तिर्छ : मेयर चिरिबाबु महर्जन

सरकारको स्वास्थ्य बीमा भुक्तानी नगरे ललितपुर महानगरले तिर्छ : मेयर चिरिबाबु महर्जन

शुक्रवार, माघ २३ २०८२१२:३४
शुक्रवार, माघ २३ २०८२१२:३४
  • images

    काठमाडौं ।ललितपुर महानगरपालिकाका मेयर चिरिबाबु महर्जनले नेपाल सरकारले स्वास्थ्य बीमाको भुक्तानी नगरे महानगरपालिकाले नै दायित्व वहन गर्ने स्पष्ट पारेका छन्।

    पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानको १८औँ वार्षिकोत्सव कार्यक्रमलाई सम्बोधन गर्दै मेयर महर्जनले स्वास्थ्य बीमाको रकम समयमा भुक्तानी नहुँदा पाटन अस्पतालको सेवा सञ्चालनमै समस्या देखिएको भन्दै सरकारको ध्यानाकर्षण गराए।

    उनले बीमा बापतको रकम नआएकै कारण सेवा बन्द गर्नुपर्ने अवस्था आए त्यसको प्रत्यक्ष आलोचना आफूले नै सहनुपर्ने अवस्था रहेको बताए। ‘अहिले सुन्नमा आइरहेको छ, नेपाल सरकारले पैसा तिरेन भनेर। बीमाबारे कुरा गर्दा मन्त्रीज्यूसँग रिंगटा लागेजस्तो भयो,’ उनले भने, ‘कथम् कदाचित स्वास्थ्य केन्द्र नेपाल सरकारले भुक्तानी नगरेको कारणले बन्द गर्नुपर्‍यो भने सबैभन्दा बढी गाली मैले नै खानुपर्ने रहेछ।’

    मेयर महर्जनले नेपाल सरकारले औपचारिक पत्रमार्फत अनुमति दिए वा भुक्तानीको जिम्मेवारी महानगरलाई सुम्पिएमा महानगरपालिकाले नै भुक्तानी गर्ने प्रतिबद्धता जनाए। ‘नेपाल सरकारले अहिलेको निम्ति ललितपुर महानगरपालिकाले यो भुक्तानी गरिदिनु भनेर पत्र दियो भने म जे पर्ला पर्ला, भुक्तानी गरिदिन्छु,’ उनले भने।

    यसै क्रममा मेयर महर्जनले पाटन अस्पतालकै प्राविधिक सल्लाह र सुझावअनुसार नयाँ स्वास्थ्य केन्द्र निर्माण भइरहेको जानकारी पनि दिए। उक्त केन्द्रमा आवश्यक फ्यासिलिटीहरू जडान भइसकेको र निकट भविष्यमै सञ्चालनमा ल्याइने उनले बताए।

    नयाँ स्वास्थ्य केन्द्र सञ्चालनमा आएपछि राष्ट्रिय स्वास्थ्य बीमा प्रतिष्ठानअन्तर्गत नगरवासीले अझ गुणस्तरीय स्वास्थ्य सेवा पाउने विश्वास व्यक्त गर्दै उनले ललितपुर महानगर र पाटन अस्पतालबीचको सहकार्य देशभरका स्थानीय तहका लागि उदाहरणीय हुने दाबी गरे।

    ‘७५३ वटा स्थानीय पालिकामध्ये ललितपुर महानगरपालिकाले पाटन अस्पतालसँग सहकार्य गरेर अघि बढाएको यो अभ्यास सम्पूर्ण पालिकाका लागि असल उदाहरण हो,’ उनले भने।मेयर महर्जनले ललितपुर महानगरपालिका ७५२ पालिकामध्ये उदाहरणीय पालिका बन्न सफल भएको पनि दाबी गरे।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend