काठमाडौँ । नेपाल दूरसञ्चार कम्पनी लिमिटेड (नेपाल टेलिकम) को निमित्त प्रबन्ध निर्देशकमा रीना डंगोल नियुक्त भएकी छिन् । माघ २२ गते प्रधानमन्त्री एवम् सञ्चार तथा सूचना प्रविधि मन्त्रीस्तरीय निर्णयबाट डंगोललाई निमित्त प्रवन्ध निर्देशकको जिम्मेवारी दिईएको हो ।
उक्त निर्णय अनुसार मन्त्रालयले शुक्रबार उनलाई नियुक्ती दिईएको पत्र पठाएको कम्पनीले जनाएको छ । नवनियुक्त निमित्त प्रबन्ध निर्देशक रीना डंगोलले बंगलादेश युनिभर्सिटीबाट इलेक्ट्रोनिक्स एन्ड इलेक्ट्रिकल विषयमा बीई गरेकी छिन् । उनले २०५१ जेठ १ बाट तत्कालीन नेपाल दूरसञ्चार संस्थानमा इन्जिनियर पदमा अस्थायी नियुक्ति लिएर सेवा प्रवेश गरेर २०५२ जेठ ९ मा स्थायी नियुक्ति लिएको टेलिकमले जनाएको छ ।
उनी २०८० जेठ ३२ देखि नेपाल टेलिकमको नायव प्रबन्ध निर्देशक नियुक्त भएको र प्रादेशिक निर्देशनालय, विराटनगर र काठमाडौं एवम् वायरलाइन तथा ग्राहक सेवा निर्देशनालयको निर्देशकको जिम्मेवारी समेत पुरा गरिसकेकी छिन् । उनी हाल प्रमुख प्राविधिक अधिकृतको रुपमा कार्यरत छिन् ।
पदभार ग्रहण गर्दै नवनियुक्त निमित्त प्रबन्ध निर्देशक डंगोलले आफूप्रति नेपाल सरकारले देखाएको विश्वास र सद्भावका लागि धन्यवाद व्यक्त गर्दै ग्राहकको चाहना र सरकारको प्राथमिकता बमोजिम कम्पनी, कर्मचारी र राष्ट्रको हितलाई केन्द्रमा राखेर अगाडि बढ्ने बताईन ।
उनले कम्पनीलाई ग्राहक–केन्द्रित, प्रविधिमैत्री र आर्थिक रूपमा सक्षम बनाउँदै सार्वजनिक दायित्व र प्रतिस्पर्धात्मक क्षमतालाई सन्तुलित रूपमा अघि बढाउने विचार व्यक्त गरिन । आफ्नो स्पष्ट दृष्टिकोण सार्वजनिक गर्दै उहाँले आत्मविश्वास, प्रतिबद्धता र साझा उद्देश्यका साथ अघि बढ्न कर्मचारीहरुलाई आह्वान समेत गरिन ।

