२०८३, आश्विन २० गते

images
  • समाचार
  • उपत्यकामा ग्यास सहज बनाउँदै निगम, एकै...

उपत्यकामा ग्यास सहज बनाउँदै निगम, एकै दिन २७ हजारभन्दा बढी सिलिण्डर वितरण

उपत्यकामा ग्यास सहज बनाउँदै निगम, एकै दिन २७ हजारभन्दा बढी सिलिण्डर वितरण

शुक्रवार, माघ २३ २०८२०४:४७
शुक्रवार, माघ २३ २०८२०४:४७
  • images

    काठमाडौं । काठमाडौं उपत्यकामा पछिल्लो समय देखिएको खाना पकाउने ग्यासको कृत्रिम अभाव हटाउन नेपाल आयल निगम सक्रिय बनेको छ। निगमले शुक्रबार एकै दिन साढे २७ हजारभन्दा बढी ग्यास सिलिण्डर बजारमा पठाएको जनाएको छ।

    निगमका प्रवक्ता मनोज ठाकुरका अनुसार शुक्रबार ११ वटा ग्यास उद्योगले ३५४ डिलरमार्फत उपत्यकाका ३५४ स्थानमा कुल २७ हजार ६ सय ४३ थान सिलिण्डर वितरण गरेका हुन्। सबैभन्दा बढी ग्यास नेपाल ग्यास उद्योगले वितरण गरेको छ। यस उद्योगले मात्रै ५९ डिलरमार्फत ७ हजार ४ सय ९४ थान सिलिण्डर बजारमा पठाएको निगमले जनाएको छ।

    त्यसैगरी श्री ग्यासले ३ हजार २ सय ३४,हिमालयन ग्यासले २ हजार ८ सय ५६,एभरेस्ट ग्यासले २ हजार ७ सय ५५,श्रीराम ग्यासले २ हजार ३ सय २०,ओम ग्यासले १ हजार ७ सय ४४ रसाल्ट ट्रेडिङ कर्पोरेसनले १ हजार ७ सय सिलिण्डर वितरण गरेका छन्।

    यस्तै, सुगम, साइबाबा, हिमाल र सीताश्री ग्यास उद्योगले पनि एक हजारदेखि डेढ हजारसम्म सिलिण्डर उपत्यकाका विभिन्न स्थानमा आपूर्ति गरेका छन्।

    निगमका अनुसार सामान्य अवस्थामा देशभर मासिक करिब ४५ हजार मेट्रिक टन ग्यास खपत हुने गर्छ। तर पछिल्ला महिनाहरूमा मागभन्दा बढी आयात गरिएको थियो।नोभेम्बर २०२५ मा ४७ हजार २ सय ६४,डिसेम्बरमा ४८ हजार ५ सय ३१ र
    जनवरी २०२६ मा ४७ हजार ३ सय ४ मेट्रिक टन ग्यास आयात गरिएको थियो।यति हुँदाहुँदै पनि माघको दोस्रो सातादेखि तेस्रो सातासम्म उपत्यकामा केही ब्रान्डको ग्यास अभाव देखिएको थियो।

    निगमका अनुसार करिब डेढ महिनाअघि भारतको बरौनीस्थित रिफाइनरी केन्द्र नियमित मर्मतसम्भारमा जाँदा मागअनुसार लोडिङ हुन सकेन।त्यसैगरी जाडोयाम र आसन्न निर्वाचनका कारण माग बढ्नु, भारतीय नम्बर प्लेटका करिब २५ प्रतिशत (झण्डै १ हजार ७ सय ५०) बुलेटले ढुवानी कटौती गर्नु, तथा ढुवानी भाडा बढाउन दबाब दिने उद्देश्यले केही उद्योगीले कृत्रिम अभाव सिर्जना गर्नु ले बजार प्रभावित भएको निगमको निष्कर्ष छ।

    निगमले हाल मागभन्दा बढी आपूर्ति बढाएकाले बिहीबारदेखि उपत्यकामा ग्यास सहज हुँदै गएको र आगामी दिनमा समस्या पूर्णरूपमा समाधान हुने विश्वास व्यक्त गरेको छ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend