काठमाडौं । आईसीसी टी–२० विश्वकप २०२६ अन्तर्गत आफ्नो पहिलो खेलमा नेपालले आज इंग्ल्याण्डसँग प्रतिस्पर्धा गर्दैछ। मुम्बइको ऐतिहासिक वाङ्खडे स्टेडियममा हुने यस खेलप्रति नेपाली समर्थकहरू विशेष उत्साहित देखिएका छन्।
नेपालको खेल आज सवा ३ बजे सुरु हुनेछ। खेल सुरु हुनुअघि नै नेपाली समर्थकहरू राष्ट्रिय झण्डा, जर्सी र नारासहित स्टेडियममा पुगिसकेका छन्। पहिलो खेलमै सशक्त प्रदर्शन गर्दै सुखद सुरुआत गर्ने अपेक्षासहित समर्थकहरू मैदानमा उत्साहका साथ उपस्थित भएका हुन्।
शनिबारबाट सुरु भएको प्रतियोगिताको पहिलो दिन नै तीन खेल सम्पन्न भइसकेका छन्। ती तीनवटै खेलमा एशोसिएट टोलीहरूले टेस्ट राष्ट्रहरूलाई कडा टक्कर दिएपछि आजको खेलमा पनि नेपालले इंग्ल्याण्डविरुद्ध उत्कृष्ट प्रदर्शन गर्ने आशा बढेको छ।
आजको दिनको पहिलो खेल न्युजिल्याण्ड र अफगानिस्तानबीच सम्पन्न भइसकेको छ। त्यसपछि हुने नेपाल–इंग्ल्याण्ड खेललाई लिएर स्टेडियमको माहोल झनै उत्साहपूर्ण बनेको छ। नेपाली समर्थकहरू खेल सुरु हुनुअघि नै स्टेडियम पुगेर टोलीलाई समर्थन गर्न आतुर देखिएका छन्।

