२०८३, आश्विन १९ गते

images
  • राजनीति
  • १७ वर्षको निर्वासनपछि सत्ता शिखरमा तारिक...

१७ वर्षको निर्वासनपछि सत्ता शिखरमा तारिक रहमान, बंगलादेशमा बीएनपीको दुईतिहाइ नजिक बहुमत

१७ वर्षको निर्वासनपछि सत्ता शिखरमा तारिक रहमान, बंगलादेशमा बीएनपीको दुईतिहाइ नजिक बहुमत

शुक्रवार, फाल्गुण १ २०८२११:११
शुक्रवार, फाल्गुण १ २०८२११:११
  • images

    काठमाडौं । बंगलादेशमा सम्पन्न आम निर्वाचनमा बंगलादेश नेसनालिस्ट पार्टी (बीएनपी) ले स्पष्ट बहुमत हासिल गरेपछि उसका अध्यक्ष तारिक रहमान प्रधानमन्त्री बन्ने निश्चित भएको छ। १७ वर्ष लामो निर्वासनपछि स्वदेश फर्किएका रहमान देशको कार्यकारी नेतृत्वमा पुग्ने तयारीमा छन्।

    स्थानीय सञ्चारमाध्यमका अनुसार २९९ सिटमध्ये बीएनपीले २०९ सिट जितेको छ, जुन बहुमतका लागि आवश्यक १५० सिटभन्दा ५९ बढी हो। हालसम्म २८६ सिटको अन्तिम परिणाम सार्वजनिक भइसकेको छ भने बाँकी सिटको औपचारिक घोषणा हुन बाँकी छ।

    जमात-ए-इस्लामी नेतृत्वको ११-दलीय गठबन्धनले ७० सिट जितेको छ। जमात प्रमुख सफिकुर रहमान ले ढाका–१५ बाट विजय हासिल गरेका छन्। विद्यार्थी आन्दोलनको जगमा गठन भएको नेशनल सिटिजन पार्टी (एनसीपी) भने अपेक्षाअनुसार प्रदर्शन गर्न असफल भएको छ। विभिन्न अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका अनुसार एनसीपीले ४–५ सिट मात्र जितेको छ।

    राजनीतिक उतारचढावबीच उदाएका रहमान

    तारिक रहमान पूर्वराष्ट्रपति जियाउर रहमान र पूर्वप्रधानमन्त्री खालिदा जिया का छोरा हुन्। सन् १९६७ मा जन्मिएका उनले ढाका विश्वविद्यालयबाट अन्तर्राष्ट्रिय सम्बन्धमा अध्ययन गरेका थिए।

    सन् २००७ मा भ्रष्टाचार आरोपमा पक्राउ परेका रहमान उपचारका लागि २००८ मा बेलायत गएका थिए र लामो समय निर्वासनमै रहे। सन् २०१८ मा २००४ को ग्रेनेड आक्रमण प्रकरणमा उनलाई अनुपस्थितिमै आजीवन कारावास सुनाइएको थियो। बीएनपीले त्यसलाई राजनीतिक प्रतिशोधको संज्ञा दिएको थियो।

    विद्यार्थी आन्दोलनपछि बदलिएको समीकरण

    सन् २०२४ मा चर्किएको विद्यार्थी आन्दोलनका कारण तत्कालीन प्रधानमन्त्री शेख हसिना सत्ताच्युत भई देश छाडेपछि बंगलादेशको राजनीतिक परिदृश्य फेरिएको थियो। त्यसपछि नोबेल शान्ति पुरस्कार विजेता मोहम्मद युनुस को नेतृत्वमा अन्तरिम सरकार गठन भएको थियो। सोही सरकारले वर्तमान निर्वाचन सम्पन्न गराएको हो।

    भारतमा निर्वासन जीवन बिताइरहेकी शेख हसिनाले भने यस निर्वाचनलाई ‘फर्जी र असंवैधानिक’ भन्दै अस्वीकार गरेकी छन्।

    करिब दुई दशक सत्ताबाहिर रहेको बीएनपीको पुनरागमनसँगै बंगलादेशको राजनीति नयाँ मोडमा प्रवेश गरेको छ। अब रहमान नेतृत्वको नयाँ सरकारले स्थायित्व, सुशासन र आर्थिक पुनरुत्थानका चुनौती कसरी सम्बोधन गर्छ भन्ने चासो बढेको छ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend