ताप्लेजुङ । प्रधानमन्त्री सुशीला कार्की प्रतिनिधिसभा सदस्य निर्वाचनको तयारी र जिल्लाको शान्तिसुरक्षा अवस्थाबारे जानकारी लिन शुक्रबार ताप्लेजुङ आइपुगेकी छन्।
आज बिहान उनले प्रसिद्ध धार्मिकस्थल पाथीभरा मन्दिर मा पूजाअर्चना गरिन्। पूजापछि सामाजिक सञ्जालमा उनले लेखेकी छन्, “फागुन महिना, निर्वाचन महिना। पाथीभराबाट सुरुआत। शान्तिपूर्ण निर्वाचनका लागि कामना गरेकी छु।”
प्रधानमन्त्री कार्कीले जिल्लास्थित सुरक्षा निकायका प्रमुख, मुख्य निर्वाचन अधिकृत तथा निर्वाचनमा खटिएका अधिकारीहरूसँग भेटघाट गर्ने कार्यक्रम रहेको छ। निर्वाचनलाई शान्तिपूर्ण र व्यवस्थित रूपमा सम्पन्न गराउन सरकार प्रतिबद्ध रहेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ।

