काठमाडौँ । सरकारले मध्यपूर्वी क्षेत्रमा उत्पन्न तनावका कारण रोकिएका नेपालीको उचित प्रबन्ध हुने जनाएको छ । आइतबार आकस्मिक बसेको मन्त्रिपरिषद बैठक सो निर्णय गरेको हो ।
आइतबार साँझ परराष्ट्र मन्त्री बालानन्द शर्माले नेपाललाई परेको प्रभाव, त्यसबारे दिइने प्रतिक्रिया र नेपाली नागरिकलाई परेको असर र समाधानबारे बैठकमा छलफल भएको जानकारी दिए।
उनले काठमाडौंस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट मध्यपूर्वी क्षेत्र जान लागी अलपत्र परेका यात्रुहरूको समस्या समाधान भइसकेको जानकारी दिए।
यसका लागि श्रम मन्त्रालय, पर्यटन मन्त्रालय र परराष्ट्र मन्त्रालयले सहकार्य गरी समाधान गरेको उनले बताए।
त्यसैगरी, ट्रान्जिटमा फसेका कामदार र यात्रुहरूका लागि परेको असुविधाबारे पनि छलफल भएको परराष्ट्र मन्त्रालयले जानकारी दिए।
त्यसैगरी अहिलेलाई मध्यपूर्वी क्षेत्रमा रहेका नेपालीहरू सुरक्षित रहेको र सुरक्षाको प्रबन्धका लागि राजदूतावासले समन्वय गर्ने पनि उनले बताए।
नेपाल फर्किन चाहनेहरूका लागि पनि विमानस्थल बन्द रहेकाले उद्धार गर्न नसकिने पनि परराष्ट्र मन्त्री शर्माले बताए।
अहिले मध्यपूर्वी क्षेत्रका कतार, कुवेत, दुबई, शारजाह, आबुधाबी, साउदी अरबको दमाम र रियादका विमानस्थल बन्द छन्।

