२०८३, आश्विन २० गते

images
  • राजनीति
  • प्रतिनिधि सभा निर्वाचनका लागि आज मध्यरातिदेखि...

प्रतिनिधि सभा निर्वाचनका लागि आज मध्यरातिदेखि मौन अवधि सुरु, के गर्न पाइन्छ के पाइँदैन ?

प्रतिनिधि सभा निर्वाचनका लागि आज मध्यरातिदेखि मौन अवधि सुरु, के गर्न पाइन्छ के पाइँदैन ?

सोमवार, फाल्गुण १८ २०८२०९:५०
सोमवार, फाल्गुण १८ २०८२०९:५०
  • images

    काठमाडौँ । प्रतिनिधि सभा निर्वाचनका लागि आज मध्यरातिदेखि मौन अवधि सुरु हुँदैछ । निर्वाचन आयोगका अनुसार मौन अवधि सुरु भएसँगै दल तथा उम्मेदवारले कुनै पनि प्रकारको चुनावी प्रचारप्रसार, सभा–सम्मेलन वा मत माग्ने गतिविधि गर्न पाउने छैनन् ।

    मौन अवधि आज राति १२ बजेदेखि सुरु भई मतदान प्रक्रिया सम्पन्न नभएसम्म कायम रहनेछ । यस अवधिमा कसैको पक्ष वा विपक्षमा प्रचारप्रसार गर्नु, भोट माग्नु वा मतदातालाई प्रभावित पार्ने कुनै पनि गतिविधि गर्न नपाइने व्यवस्था छ ।

    निर्वाचन आचारसंहितामा दल वा उम्मेदवारका प्रचारप्रसारका सामग्री हटाउनुपर्ने, कुनै पनि विधि, प्रक्रिया वा माध्यमबाट मत माग्न वा निर्वाचन प्रचारप्रसार गर्न नहुने स्पष्ट उल्लेख गरिएको छ । मौन अवधि सुरु भएपछि सम्बन्धित निर्वाचन अधिकृतको कार्यालयले मतदान केन्द्रको तीन सय मिटर वरपर राखिएका सबै प्रकारका प्रचार सामग्री हटाउन लगाउने जनाएको छ ।

    कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले मौन अवधिमा निर्वाचन प्रचारप्रसारलगायत कुनै पनि प्रकारका छलफल, अन्तरक्रिया, सभा, सम्मेलन, कार्यशाला तथा गोष्ठी गर्न नपाइने जानकारी दिए । उनका अनुसार सामाजिक सञ्जालमार्फत् समेत कसैको पक्ष वा विपक्षमा सन्देश पोस्ट वा शेयर गर्न, भोट माग्न वा प्रचार सामग्री प्रसारण गर्न निषेध गरिएको छ ।

    मौन अवधिको व्यवस्था अन्तर्राष्ट्रिय अभ्यासअनुसार लागू गरिएको हो । मतदानका क्रममा प्रतिस्पर्धीबीच विवाद वा झडप नहोस्, मतदाता आतंकित नहून् र शान्त वातावरणमा निष्पक्ष निर्वाचन सम्पन्न होस् भन्ने उद्देश्यले यस्तो प्रावधान राखिएको आयोगले जनाएको छ ।

    यदि मौन अवधि नराखी मतदानको अघिल्लो दिनसम्म प्रचारप्रसार खुला गरिएमा उम्मेदवार तथा राजनीतिक दलहरूले मतदातालाई प्रत्यक्ष वा अप्रत्यक्ष रूपमा प्रभावित पार्ने जोखिम रहने आयोगको ठहर छ । त्यसैले स्वच्छ, स्वतन्त्र र निष्पक्ष प्रतिस्पर्धाका लागि मौन अवधि कडाइका साथ कार्यान्वयन गरिने आयोगले स्पष्ट पारेको छ ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend