काठमाडौँ । गृहमन्त्री ओमप्रकाश अर्याल, गृह सचिव राजकुमार श्रेष्ठ, सुरक्षा निकाय प्रमुख एवं गृहमन्त्रालयका उच्च अधिकारीसहितको टोलीले काठमाडौँ उपत्यकाका विभिन्न मतदान स्थलको स्थलगत निरीक्षण तथा अनुगमन गरेका छन् ।
मन्त्री अर्यालले प्रतनिधिसभा सदस्य निर्वाचन अन्तर्गत ललितपुर क्षेत्र नं ३ मा मतदान गरेलगत्तै सबै सुरक्षा निकायका प्रमुख सहित काठमाडौँ र ललितपुरका विभिन्न मतदान स्थलको अनुगमन गरेका हुन् ।
उनले मतदातासँग दोहोरो कुराकानी समेत गरेका थिए। हरेक बुथको निरीक्षणका क्रममा मतदाताले गृहमन्त्री अर्यालको प्रसंशा गर्दै बधाई दिएका थिए । केही मतदाताले अँगालो मारेर खुशी आदन–प्रदान गरे । मन्त्री अर्यालले पनि मतदातासँग सौहार्दपूर्ण कुराकानी गर्नुभई मतदान स्थलहरुको समग्र अवस्थाबारे मतदान अधिकृत, सुरक्षा निकायबाट जानकारी समेत लिएका थिए ।
ललितपुरको सानेपास्थित टीका विद्याश्रम मावि, काठमाडौँको तारकेश्वरको नागर्जुन मावि र पृथ्वीनारायण मावि, बालुवाटारको श्री पञ्चकन्या आधारभूत विद्यालय तथा सशस्त्र प्रहरी बलको मुख्यालमा रहेको केन्द्रीय निर्वाचन सेलको निरीक्षण गरेका हुन् ।
अनुगमनमा प्रहरी महानिरीक्षक दानबहादुर कार्की, सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्याल, राष्ट्रिय अनुसन्धान विभागका प्रमुख टेकेन्द्र कार्की, नेपाली सेनाका बलाधिकृत रथि प्रदीपजंघ केसी, गृहमन्त्रालयको सुरक्षा तथा समन्वय महाशाखाका प्रमुख एवं प्रवक्ता आनन्द काफ्लेलगायत सहभागीता थियो ।
अनुगमनकै क्रममा गृहमन्त्री अर्यालले हल्चोकस्थित सशस्त्र प्रहरी बलको मुख्यालयमा केन्द्रीय निर्वाचन सेलको निरीक्षण गरे ।
मतदान स्थल अनुगमनकाक्रममा गृहमन्त्री अर्यालले निर्वाचन शान्तिपूर्ण वातावरणमा उत्साहजनक रुपमा मतदान भइरहेको बताउनुभयो । उहाँले छिटफुट घटनाबाहेक देशभरको समग्र शान्ति सुरक्षाको अवस्था सामान्य रहेको बताए ।
अनुगमनपछि गृहमन्त्री अर्यालले प्रधानमन्त्री निवास बालुवाटार पुगेर सम्माननीय प्रधानमन्त्री सुशीला कार्कीसमक्ष ब्रिफिङ गरे । निर्वाचन सुरक्षाको सन्दर्भमा मन्त्री अर्यालले गृहमन्त्रालयको कन्ट्रोलमा बसी सबै निर्वाचन क्षेत्रहरुको मनिटरिङ गरिरहेका छन् ।

