काठमाडौँ । काठमाडौँको राजनीतिक वृत्तमा करिब एक दशकअघि एउटा नाम अचानक चर्चामा आयो रञ्जु दर्शना । युवा उमेरमै वैकल्पिक राजनीतिको आवाज उठाउँदै सडकदेखि चुनावी मैदानसम्म सक्रिय देखिएकी उनी अहिले प्रतिनिधिसभाको सदस्य बनेकी छन् ।
बिहीबार सम्पन्न प्रतिनिधिसभा निर्वाचनमा उनले १५ हजार ४५५ मत प्राप्त गर्दै विजय हासिल गरिन् । उनका निकटतम प्रतिस्पर्धी प्रवल थापा क्षेत्री (नेपाली कांग्रेस) ले ६ हजार ३६४ मत ल्याए भने रविन्द्र मिश्र (राप्रपा) ३ हजार ९७२ मतसहित तेस्रो स्थानमा रहे ।
यो जितसँगै वैकल्पिक राजनीतिको नारासहित सुरु भएको उनको यात्राले नयाँ मोड लिएको छ ।
रञ्जु १७ वर्षको उमेरमै सन् २०१३ (२०७० साल) मा विवेकशील साझा पार्टीमा आवद्ध भइन्। त्यसबेला नेपालमा बारम्बार हुने बन्द–हड्तालले जनजीवन प्रभावित बनिरहेको थियो।
त्यस्तो बन्द संस्कृतिको विरोध गर्दै उनी सडक आन्दोलनमा सक्रिय भइन्। युवाहरूको सक्रियतामा ‘बन्द बहिष्कार अभियान’ सञ्चालन भयो, जसले शहरी युवाबीच वैकल्पिक राजनीतिको चर्चा बढायो।
राजनीतिसँगै सामाजिक कार्यमा पनि उनको सक्रियता देखियो। २०७२ सालको विनाशकारी २०१५ भूपक्पपछि उनले राहत र पुनस्र्थापनाका अभियानमा स्वयंसेवकको रूपमा काम गरिन्। भ्रष्टाचारविरुद्ध गोबिन्द केसीले गरेको आन्दोलनमा पनि उनी सहयोगी भूमिकामा देखिएकी थिइन्।
मेयरको चुनावबाट राष्ट्रिय चर्चा
२०७४ सालको स्थानीय तह निर्वाचनले रञ्जुको राजनीतिक परिचयलाई राष्ट्रिय स्तरमा पु¥यायो। उनले काठमाडौँ महानगरपालिकाको मेयर पदमा उम्मेदवारी दिइन्।
‘काठमाडौं विश्वको सुन्दर शहर बनाऔँ’ भन्ने नारासहित चुनावी मैदानमा उत्रिएकी उनले २३ हजार ४३९ मत प्राप्त गर्दै तेस्रो स्थान हासिल गरिन्। उक्त निर्वाचनमा भने विद्यासुन्दर शाक्य मेयरमा निर्वाचित भएका थिए।
तर त्यो चुनावले रञ्जुलाई युवा पुस्तामाझ वैकल्पिक राजनीतिको प्रतीकका रूपमा स्थापित ग¥यो।
उतारचढाव र नयाँ राजनीतिक मोड
समयसँगै पार्टीभित्र विवाद बढ्दै गएपछि २०७८ सालतिर उनले विवेकशीलबाट राजीनामा दिइन् र केही समय स्वतन्त्र रूपमा सक्रिय रहिन्।
२०७९ सालको प्रतिनिधिसभा निर्वाचनमा उनले काठमाडौँ ५ बाट स्वतन्त्र उम्मेदवारका रूपमा ‘सेलरोटी’ चुनाव चिह्न लिएर चुनाव लडिन्। तर त्यो चुनावमा उनी सफल हुन सकिनन् र करिब ६०० मतमै सीमित भइन्।
पछि २०८१ सालमा उनी राष्ट्रिय स्वतन्त्र पार्टीमा प्रवेश गरिन् र पार्टीको केन्द्रीय सदस्य बनिन्। यही पार्टीबाट काठमाडौँ–१ मा उम्मेदवार बनेकी उनले यसपटक भने निर्णायक विजय हासिल गरिन्।
काठमाडौंको मैतीदेवी क्षेत्रकी स्थायी बासिन्दा रञ्जुले स्नातक तहसम्म अध्ययन गरेकी छन्।
राजनीतिमा उनको यात्रा सहज थिएन—सडक आन्दोलन, सामाजिक सेवा, चुनावी हार र फेरि उठान। तर यही उतारचढावबीच उनले आफूलाई वैकल्पिक राजनीतिको आवाजका रूपमा स्थापित गरिन्।
२१ वर्षको उमेरमा मेयरको उम्मेदवार बनेकी रञ्जु अहिले संसद् पुगेकी छन्। उनको यो यात्रा नेपालमा युवापुस्ताको राजनीतिप्रति बढ्दो सहभागिताको एउटा उदाहरणका रूपमा हेरिएको छ।

