काठमाडौं । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र सोही पार्टीका वरिष्ठ नेता बालेन्द्र (बालेन) शाहसँग टेलिफोनमार्फत कुराकानी गरेका छन्।
मोदीले सोमबार सामाजिक सञ्जालमार्फत उक्त जानकारी दिँदै नेपालमा सम्पन्न निर्वाचनमा रास्वपाले हासिल गरेको सफलताका लागि दुवै नेतालाई बधाई दिएका हुन्।
उनले रास्वपाले नेपालमा प्राप्त गरेको उल्लेखनीय सफलताप्रति शुभकामना व्यक्त गर्दै आगामी सरकार गठन प्रक्रियाका लागि पनि शुभेच्छा प्रकट गरेका छन्।
साथै मोदीले भारत सरकार नेपालसँग पारस्परिक समृद्धि, प्रगति र दुई देशका नागरिकको हितका लागि सहकार्य गर्न प्रतिबद्ध रहेको उल्लेख गरेका छन्।
उनले भारत–नेपालबीचको सम्बन्ध आगामी वर्षहरूमा अझ नयाँ उचाइमा पुग्ने विश्वास व्यक्त गर्दै संयुक्त प्रयासमार्फत द्विपक्षीय सम्बन्धलाई थप मजबुत बनाउँदै लैजाने अपेक्षा पनि व्यक्त गरेका छन्।
नेपालमा हालै सम्पन्न प्रतिनिधिसभा निर्वाचनमा रास्वपाले उल्लेखनीय सफलता हासिल गरेपछि भारतीय प्रधानमन्त्री मोदीले पार्टीका शीर्ष नेतासँग टेलिफोन वार्ता गर्दै बधाई दिएका हुन्।

