काठमाडौँ । कर्णाली प्रदेशका हिमाली जिल्लाको नियमित हवाई उडान गर्न छ बुँदे संकल्पपत्र पारित गरिएको छ ।
कर्णाली प्रदेशसभाको दोस्रो कार्यकालको सातौ अधिवेशनको शुक्रबार बसेको छैटौँ बैठकबाट उक्त संकल्पपत्र पारित गरिएको हो । कर्णाली प्रदेशका हिमाली जिल्लामा नियमित हवाई सेवा सञ्चालन गर्ने सम्बन्धमा तयार पारेको छ बुँदे संकल्पपत्र नेपाली कांग्रेस कर्णाली प्रदेशसभा दलका प्रमुख सचेतक हिक्मतबहादुर विष्टले सभामा प्रस्तुत गरे ।
उक्त संकल्पपत्रमाथिको छलफलमा भाग लिँदै प्रदेशसभा सदस्य टेकराज पछाइ, उर्मिला विश्वकर्मा ढिलो भएपनि राम्रो कामको सुरुआत भएको र त्यसको कार्यान्वयनमा जोड दिनुपर्ने बताए। प्रदेश सरकारका उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री सुरेश अधिकारीले संकल्प प्रस्तावमा उठेका विषयमा जवाफ दिए। मन्त्री अधिकारीले जवाफ दिएसँगै उक्त संकल्प पत्र सर्वसहमतिले पारित भएको थियो ।
त्यस्तै, बैठकको आकस्मिक समयमा भाग लिँदै प्रदेशसभा सदस्य राजकुमार शर्माले प्रदेश सरकारले दशवटै जिल्लाको अभिभावकीय भूमिका खेल्न नसकेको बताए । प्रदेश सरकारका काम कारवाहीले नै प्रदेश खारेजको प्रश्न उठेको उनले टिप्पणी गरे । विशेष सरकार आफैँ ल्याएको नीति तथा कार्यक्रमअनुसार बजेट कार्यान्वयन गर्नुपर्नेमा उनले जोड दिए ।
बैठकमा कर्णाली प्रदेश सरकारका सामाजिक विकासमन्त्री घनश्याम भण्डारीले मन्त्रालयका विषयमा उठेका प्रश्न तथा जिज्ञासाको जवाफ दिएका थिए । उनले सेवा लिने र दिनेबीचको सम्बन्धलाई सहज र मित्रवत बनाउन मन्त्रालयले अधिकतम प्रयास गरेको बताए ।
त्यसैगरी, मन्त्री भण्डारीले कर्णाली प्रदेश खेलकुद विकास ऐन, २०७६ लाई संशोधन गर्न बनेको विधेयकमाथि विचार गरियोस भनि सभामा राखेको प्रस्ताव पनि सर्वसहमतिले पारित भएको थियो । उक्त विधेयकमाथिको सामान्य छलफलमा प्रदेशसभा सदस्य रनसिंह परियार, टेकराज पछाइ, जीतबहादुर मल्लले भाग लिनुभयो । यसमा मन्त्री भण्डारीले जवाफ दिए ।

