काठमाडौं । इजरायलमा पछिल्ला दिनहरूमा इरानबाट भइरहेको क्षेप्यास्त्र तथा ब्यालेस्टिक मिसाइल आक्रमणका कारण अवस्था गम्भीर बन्दै गएको छ। त्यहाँ रहेका नेपालीहरूले बढ्दो आक्रमणसँगै सुरक्षा चिन्ता बढ्दै गएको बताएका छन्।
विशेषगरी पछिल्लो एक दिनयता आक्रमणको तीव्रता बढेको र सर्वसाधारणमा त्रास फैलिएको बताइएको छ। हालसम्म नेपालीहरू प्रत्यक्ष रूपमा प्रभावित नभए पनि अवस्था जोखिमपूर्ण बन्दै गएको उनीहरूको भनाइ छ।
गैरआवासीय नेपाली संघ (एनआरएनए) आईसीसी सदस्य अलि महम्मद मियाँका अनुसार विगतको तुलनामा पछिल्लो समय आक्रमण बढी भएको छ। दक्षिणी शहर अराद, उत्तरी क्षेत्र दिमोना तथा राजधानी तेल अविव क्षेत्रमा लगातार मिसाइल प्रहार भइरहेको छ।
आज बिहान मात्रै तेल अविवका रामत गान र पेटाह टिक्वा क्षेत्रमा पटक–पटक मिसाइल आक्रमण हुँदा केही व्यक्ति घाइते भएका छन्। इजरायलको मिसाइल प्रतिरक्षा प्रणाली पनि पहिलेको तुलनामा कमजोर देखिएको बताइएको छ।
इजरायलमा रहेका अधिकांश घर तथा कार्यस्थलमा बंकर (सेल्टर) व्यवस्था भए पनि सबै नेपालीले समान रूपमा त्यसको उपयोग गर्न नसकेको गुनासो छ। विशेषगरी केयरगिभरका रूपमा काम गर्ने नेपालीहरूलाई साइरन बज्दा तत्काल सुरक्षित स्थानमा जान कठिन हुने गरेको छ।
इजरायलमा साइरन बज्नु अघि करिब १० मिनेटअगाडि चेतावनी सन्देश आउने र त्यसपछि एक मिनेटभित्र नजिकको बंकरमा पुग्नुपर्ने व्यवस्था रहेको छ। तर व्यवहारमा सबैका लागि यो सहज नहुने अनुभव गरिएको छ।
लगातार बढ्दो आक्रमणका कारण नेपाली समुदायसहित सर्वसाधारणमा त्रास फैलिएको छ। यदि युद्ध लामो समयसम्म लम्बियो भने अवस्था अझ जटिल बन्ने अनुमान गरिएको छ।
एनआरएनए इजरायलले समस्या परेका नेपालीहरूलाई सम्पर्कमा आउन आग्रह गर्दै उच्च सतर्कता अपनाउन अनुरोध गरेको छ।

