काठमाडौँ । ज्योति विकास बैंकले चैत्र ०२ गते देखि ०८ गतेसम्म ग्लोबल मनी विक मनाएको छ। यस अभियान अन्तर्गत विभिन्न स्थानहरुमा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न गरेको छ। ग्लोबल मनी विक २०२६ को मुख्य नारा “Smart Money Talks” भन्ने विषयवस्तुमा केन्द्रित भई युवा तथा लक्षित वर्गलाई विभिन्न वित्तीय जानकारी प्रदान गर्ने हेतुले एक सातासम्म बैंकको विभिन्न शाखाहरु मार्फत देशका विभिन्न ठाउँहरुमा वित्तीय साक्षरता र सचेतनाका कार्यक्रमहरु आयोजना गरेको हो।
बैंकले डिजिटल माध्यम र सोसल मिडिया मार्फत पनि विभिन्न सचेतना तथा अन्य जानकारीमूलक कार्यहरु सञ्चालन गरेको छ। यस अभियानमार्फत करिब २२०० जना भन्दा बढी व्यक्तिहरु प्रत्यक्षरुपमा लाभान्वित भएका छन्।
सो कार्यक्रम अन्तर्गत बैंकका प्रादेशिक तथा क्लस्टर कार्यालयहरु अन्तर्गत रहेका विभिन्न शाखा कार्यालयहरु मार्फत सोही क्षेत्रका विद्यालय तथा कलेजहरुमा आधुनिक बैंकिङ्ग, बैंक तथा वित्तीय संस्थाका मुख्य कार्यहरु, वित्तीय अनुशासन, आवश्यकता तथा चाहनाहरु, वित्तीय लक्ष्य, बचत, लगानी, खर्च, विद्युतीय वित्तीय सेवाहरू, नगद रहित कारोबार, धितोपत्र बजार, विद्युतीय ठगी, इत्ए सम्बन्धी ज्ञान लगायतका विषयहरूलाई समावेश गरी ३० वटा भन्दा बढी तालिम तथा वित्तीय साक्षरता कार्यक्रम सञ्चालन गरिएको हो।
साथै, बैंकले ग्लोबल मनी विक अवधि भर बैंकका सामाजिक सञ्जालहरुमा विभिन्न Audio Visual सामग्रीहरु प्रकाशित गर्ने तथा प्रभात फेरी कार्यक्रमहरु आयोजना गरि विभिन्न वित्तीय सूचनाहरु पनि प्रवाह गरेको छ । फलस्वरूप बैंकका यस्ता कार्यक्रमहरुले वित्तीय साक्षरताको महत्वका बारेमा जागरण ल्याउने तथा सानै उमेरदेखि बालबालिका र युवाहरूको साथै लक्षित वर्गलाई केन्द्रीत वित्तीय साक्षरता प्रवर्द्धन गर्ने, उनीहरूलाई वित्तीय निर्णयहरू लिन र भविष्यमा सक्षम नागरिक बन्न र सुशुचित वित्तीय निर्णय लिन आवश्यक ज्ञान, सीप र व्यवहारले सशक्त बनाउने उद्देश्यमा स्पष्ट योगदान पुर्याउने बैंकको विश्वास रहेको छ ।

