काठमाडौं । अमेरिकाले मध्यपूर्वमा आफ्नो सैन्य तैनाथी उल्लेखनीय रूपमा बढाउँदै ५० हजार सैनिक पुर्याएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन्।
अमेरिकी अखबार द न्युयोर्क टाइम्स का अनुसार, सामान्य अवस्थामा करिब ४० हजार सैनिक तैनाथ गर्दै आएको अमेरिकाले इरानसँगको बढ्दो तनावपछि थप करिब १० हजार सैनिक पठाएको हो।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प ले केही दिनमै इरान झुक्ने दाबी गरे पनि युद्ध अपेक्षाभन्दा लामो खिचिएपछि सैन्य उपस्थिति बढाइएको विश्लेषण गरिएको छ।
अमेरिकाले जापानस्थित सैन्य अड्डाबाट करिब २५०० मरिन (समुद्री आक्रमण बल) मध्यपूर्व पठाएको छ भने त्यति नै संख्यामा पश्चिमी किनारबाट पनि फौज पठाइएको छ।
यसअघि पेन्टागनले ८२ औं एयरबोर्न डिभिजनका २ हजारभन्दा बढी सैनिक पनि परिचालन गरिसकेको छ। यी विशेष फौजहरू छिटो प्रतिक्रिया दिने र आकस्मिक आक्रमणका लागि प्रयोग गरिन्छ।
मध्यपूर्वमा अमेरिकी युद्धपोत अब्राहम लिंकन सुरुदेखि नै तैनाथ छ भने अर्को युद्धपोत यूएसएस जेराल्ड फोर्ड मर्मतका लागि फिर्ता गरिएको छ।
अलजजिराका अनुसार, मध्यपूर्वमा अमेरिकाका अस्थायी र स्थायी गरी १९ वटा सैन्य अड्डा छन्। कतार, बहराइन, कुवेत, यूएई, साउदी अरब, इराक र जोर्डनमा अमेरिकी सेना तैनाथ छन्।
कतारस्थित अल उदैद एयर बेस अमेरिकी कमाण्ड सेन्टरका रूपमा प्रयोग हुँदै आएको छ भने बहराइनस्थित फिफ्थ फ्लिट ले नौसैनिक गतिविधि सञ्चालन गर्छ।
अमेरिकाले इरानको रणनीतिक खर्ग टापु कब्जा गर्ने तयारी गरिरहेको हुनसक्छ। उक्त टापु इरानको कच्चा तेल निर्यातको प्रमुख केन्द्र हो, जहाँबाट करिब ९० प्रतिशत तेल निर्यात हुने गर्छ। यदि उक्त टापु नियन्त्रणमा लिइयो भने इरानको आर्थिक स्रोतमा ठूलो असर पर्ने अनुमान गरिएको छ।
अमेरिकाले इरानलाई बारम्बार सहमतिमा आउन अल्टिमेटम दिँदै आएको छ। तर अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले भने अमेरिका भित्रभित्रै स्थल आक्रमणको तयारीमा रहेको आशंका व्यक्त गरेका छन्। यसबीच इरानका शीर्ष नेताहरूले भने अमेरिकी आक्रमण भए कडा प्रतिकार गर्ने चेतावनी दिएका छन्।

