काठमाडौँ । इराकको रक्षा मन्त्रालयले बगदाद अन्तर्राष्ट्रिय विमानस्थल नजिकै रहेको मोहम्मद अला एयर बेसमा भएको क्षेप्यास्त्र आक्रमणमा वायुसेनाको एक विमान ध्वस्त भएको जनाएको छ। सोमबार बिहान भएको उक्त आक्रमणले सैन्य संरचनामा क्षति पुर्याए पनि मानवीय क्षतिको कुनै रिपोर्ट प्राप्त नभएको मन्त्रालयले स्पष्ट पारेको छ।
रक्षा मन्त्रालयले आफ्नो आधिकारिक वेबसाइटमार्फत घटनाको कडा शब्दमा निन्दा गर्दै यसलाई “सैन्य प्रतिष्ठान र तिनको रक्षा क्षमता कमजोर पार्ने कायरतापूर्ण र आपराधिक कार्य” भनेको छ। साथै, यस्ता गतिविधिले क्षेत्रीय सुरक्षा अवस्थालाई थप जटिल बनाउने चेतावनीसमेत दिएको छ।
यसैबीच, सिरियाली अरब सेनाले पनि सोमबार बिहान इराकसँग जोडिएको सीमावर्ती क्षेत्रमा आफ्ना विभिन्न सैन्य आधारहरूलाई लक्षित गरी गरिएको व्यापक ड्रोन आक्रमणलाई विफल पारिएको दाबी गरेको छ। सरकारी समाचार एजेन्सी सानासँग कुरा गर्दै अपरेसन कमान्डले अधिकांश ड्रोनहरू हवाई प्रतिरक्षा प्रणालीमार्फत रोकी खसालिएको जानकारी दिएको छ।
पछिल्ला घटनाक्रमले मध्यपूर्व क्षेत्रमा सुरक्षा चुनौती थप चुलिँदै गएको संकेत गरेको विश्लेषकहरूले बताएका छन्।

