२०८३, आश्विन १९ गते

images

१९औं विश्व अटिजम सचेतना दिवस २०२६: ‘हरेक जीवन मूल्यवान’ भन्ने सन्देशसहित विविध कार्यक्रम गरी मनाइँदै

१९औं विश्व अटिजम सचेतना दिवस २०२६: ‘हरेक जीवन मूल्यवान’ भन्ने सन्देशसहित विविध कार्यक्रम गरी मनाइँदै

बुधवार, चैत्र १८ २०८२१२:३५
बुधवार, चैत्र १८ २०८२१२:३५
  • images

    काठमाडौं । २ अप्रिल, १९औं विश्व अटिजम सचेतना दिवस विभिन्न कार्यक्रमका साथ नेपालसहित विश्वभर मनाइँदै छ। सन् २००८ मा संयुक्त राष्ट्रसंघ (UN) ले यो दिवस घोषणा गरेपछि हरेक वर्ष अटिजमसम्बन्धी सचेतना फैलाउने उद्देश्यले विभिन्न गतिविधि सञ्चालन हुँदै आएका छन्।

    यस वर्षको नारा ‘Celebrate Difference, Autism and Humanity – Every Life Has Value’ रहेको छ, जसले अटिजम भएका व्यक्तिहरूको विशिष्टता स्वीकार गर्दै हरेक जीवनको मूल्यलाई सम्मान गर्न आह्वान गरेको छ।

    अटिजम मस्तिष्कको एक फरक अवस्था (Neurodivergent condition) हो, जसलाई सही ढंगले बुझेर तालिम, शिक्षा र रोजगारीसम्म समावेश गर्नुपर्ने आवश्यकता दिनप्रतिदिन बढ्दै गएको छ। सन् २०२५ मा Center for Disease Control and Prevention (CDC) ले सार्वजनिक गरेको तथ्यांकअनुसार हरेक ३१ बालबालिकामध्ये १ जनामा अटिजम देखिने गरेको छ, जुन विश्वभर बढ्दो चुनौतीका रूपमा देखिएको छ।

    नेपालमा अटिजम केयर नेपाल सोसाइटी (ACNS) ले पनि यस दिवसलाई विशेष महत्वका साथ मनाउँदै आएको छ। सन् २००८ अप्रिल २ मै स्थापना भएको उक्त संस्थाले यस वर्ष पनि विविध कार्यक्रम आयोजना गर्दै आएकाे छ ।

    ACNS का अनुसार यस वर्ष टक शो, सडक नाटक, अभिभावक तथा शिक्षकका लागि प्रशिक्षण, फ्ल्यास मोब, कला प्रदर्शनी (Art Exhibition) लगायत कार्यक्रमहरू आयोजना गरिएका छन्। ललितपुरको जावलाखेलस्थित ललित मण्डप प्राङ्गणमा अभिभावक, अटिजम भएका व्यक्तिहरू, विशेषज्ञ, प्रशिक्षक, समाजसेवी तथा सरकारी प्रतिनिधिहरूको सहभागितामा कार्यक्रम सम्पन्न हुँदैछन्।

    यस वर्षको विशेष आकर्षणका रूपमा अटिजम भएका व्यक्तिका दाजुभाइ तथा दिदीबहिनी (siblings) को भूमिका र चुनौतीलाई केन्द्रमा राख्दै पोडकास्ट कार्यक्रमसमेत सञ्चालन गरिएको छ, जसले परिवारभित्रको अनुभव र भावनालाई समाजसम्म पुर्‍याउने प्रयास गरेको छ।

    विशेषज्ञहरूका अनुसार अटिजम जीवनभर रहने अवस्था भए पनि समयमै हस्तक्षेप, उचित तालिम र सहयोग प्राप्त भएमा अटिजम भएका व्यक्तिहरू समाजमा सक्रिय र उत्पादक जीवन बिताउन सक्षम हुन्छन्। तर, समयमै सहयोग नपाए उनीहरू परिवार र समाज दुवैका लागि चुनौती बन्न सक्ने चेतावनी पनि दिइएको छ।

    अटिजम भएका व्यक्तिहरूको क्षमता, सीप र विविधतालाई स्वीकार गर्दै समावेशी समाज निर्माण गर्नु अहिलेको आवश्यकता भएको सरोकारवालाहरूको भनाइ छ। उनीहरूका अनुसार अटिजमलाई चिन्ने मात्र नभई गहिराइमा बुझेर स्वीकार गर्नु नै सकारात्मक र मानवकेन्द्रित समाज निर्माणको आधार हो।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend