काठमाडौं । नबिल बैंकको ‘नबिल ८ प्रतिशत अविमोच्य असञ्चिति अग्राधिकार शेयर’ दोस्रो बजारमा कारोबार सुरु भएको छ । प्रति शेयर १०० रुपैयाँ अंकित मूल्य रहेको पाँच अर्ब रुपैयाँ बराबरको पाँच करोड कित्ता शेयरको कारोबार यही २०८२ चैत १६ गते सोमबारदेखि सुरु गरिएको हो ।
यस प्रकारको अविमोच्य असञ्चिति अग्राधिकार शेयर दोस्रो बजारमा संस्थागत लगानीकर्ताबीच मात्रै खरिद–बिक्री हुने व्यवस्था गरिएको छ । सर्वसाधारण लगानीकर्ता, नेपाल धितोपत्र बोर्डबाट अनुमतिप्राप्त धितोपत्र व्यवसायी (दलाल, व्यापारी, मर्चेन्ट बैंकर लगायत) तथा सामूहिक लगानी कोषले भने यसमा कारोबार गर्न नपाउने प्रावधान रहेको छ ।
नेपाल राष्ट्र बैंक र नेपाल धितोपत्र बोर्डले यससम्बन्धी नीतिगत व्यवस्था गरेपछि यस्तो किसिमको अग्राधिकार शेयर जारी गर्ने स्वीकृति प्राप्त गर्ने नबिल बैंक पहिलो संस्था बनेको हो । बैंकका अनुसार यस उपकरणमार्फत अतिरिक्त प्राथमिक पुँजी वृद्धि भई पुँजीगत आधार बलियो हुने, जोखिम वहन क्षमता बढ्ने तथा व्यवसाय विस्तारमा सहयोग पुग्ने अपेक्षा गरिएको छ ।
हाल नबिल बैंकले देशभर २६८ शाखा सञ्जाल र ३१८ एटिएममार्फत सेवा प्रदान गर्दै आएको छ । २५ लाखभन्दा बढी ग्राहकलाई सेवा दिँदै आएको बैंकले डिजिटल बैंकिङलाई प्रवर्द्धन गर्दै ‘एनबैंक’ सञ्चालनमा ल्याएको छ । बैंकले चार दशकदेखि गुणस्तरीय सेवा प्रदान गर्दै दिगो बैंकिङतर्फ उन्मुख हुँदै आएको जनाएको छ ।

