काठमाडौँ । खाडी क्षेत्रमा विकसित सुरक्षा चुनौती र तनावपूर्ण अवस्थाका बीच सरकारले त्यहाँ रहेका नेपाली नागरिकहरूको उद्धारका लागि विशेष उडान सञ्चालन गर्ने निर्णय गरेको छ।
बुधबार परराष्ट्रमन्त्री शिशिर खनालको समन्वयमा बसेको विभिन्न सरकारी निकायहरूको संयुक्त बैठकले उद्धार उडान सञ्चालन गर्ने निर्णय गरेको परराष्ट्र मन्त्रालयले जनाएको छ। मन्त्रालयका अनुसार नेपाल एयरलाइन्समार्फत भोलिदेखि लगातार तीन दिन चार वटा विशेष उडान सञ्चालन गरिनेछ।
सार्वजनिक गरिएको तालिका अनुसार ३ अप्रिल २०२६ मा काठमाडौं–दुबई उडान राति २३ः१५ बजे ९स्थानीय समय० प्रस्थान गर्नेछ भने ४ अप्रिलमा दुबई–काठमाडौं उडान बिहान ०४ः१० बजे सञ्चालन हुनेछ। त्यसैगरी ५ अप्रिलमा काठमाडौं–दमाम उडान बिहान ०८ः३० बजे र सोही दिन दमाम–काठमाडौं उडान दिउँसो १२ः२० बजे सञ्चालन हुने तय भएको छ।
पश्चिम एशियामा जारी द्वन्द्व र सुरक्षा अवस्थाको असरका कारण २८ फेब्रुअरी २०२६ देखि ती क्षेत्रमा नियमित उडानहरू स्थगित हुँदै आएका थिए। सोही अवस्थालाई मध्यनजर गर्दै सरकार उद्धार उडानमार्फत समस्यामा परेका नेपालीहरूलाई स्वदेश फर्काउने तयारीमा जुटेको हो।
परराष्ट्र मन्त्रालयले सम्बन्धित क्षेत्रमा रहेका नेपाली नागरिकहरूलाई दूतावाससँग सम्पर्कमा रहन तथा आवश्यक विवरण उपलब्ध गराउन समेत आग्रह गरेको छ।

