२०८३, आश्विन १९ गते

images
  • समाचार
  • आगामी आर्थिक वर्ष २०८३/८४ को बजेट...

आगामी आर्थिक वर्ष २०८३/८४ को बजेट लेखन समिति गठन, खत्रिले पाए जिम्मेवारी

आगामी आर्थिक वर्ष २०८३/८४ को बजेट लेखन समिति गठन, खत्रिले पाए जिम्मेवारी

शुक्रवार, चैत्र २० २०८२०३:५८
शुक्रवार, चैत्र २० २०८२०३:५८
  • images

    काठमाडौँ । सरकारले आर्थिक वर्ष २०८३/८४ को बजेट निर्माण प्रक्रिया औपचारिक रूपमा सुरु गरेको छ। बजेट तथा कार्यक्रमको सिद्धान्त, प्राथमिकता र बजेट वक्तव्यको मस्यौदा तयार गर्न बजेट लेखन समिति गठन गरिएको हो।

    अर्थ मन्त्रालयका अनुसार आगामी आर्थिक वर्षको बजेटलाई व्यवस्थित, समावेशी र प्रभावकारी बनाउन आवश्यक प्रारम्भिक कार्यहरू अघि बढाइएको छ। सोही उद्देश्यले गठित समितिले नीति तथा कार्यक्रम निर्माणदेखि बजेट वक्तव्यको मस्यौदा तयार गर्ने जिम्मेवारी पाएको छ।

    समितिको कार्यक्षेत्र अन्तर्गत आर्थिक वर्ष २०८३/८४ का लागि नेपाल सरकारको वार्षिक नीति तथा कार्यक्रमका लागि सुझाव उपलब्ध गराउने, कार्यान्वयन गरिने आयोजना तथा कार्यक्रमहरूको प्राथमिकीकरणमा सहजीकरण गर्ने, संसद्का दुवै सदनमा पेश गरिने विनियोजन विधेयकको सिद्धान्त तथा प्राथमिकताको मस्यौदा तयार गर्ने तथा बजेट वक्तव्य तयार गरी पेश गर्ने लगायतका जिम्मेवारी रहेका छन्।

    समितिको संयोजकमा राजश्व व्यवस्थापन महाशाखाका प्रमुख उत्तर कुमार खत्री रहेका छन्। सदस्यहरूमा बजेट तथा कार्यक्रम महाशाखाका प्रमुख डा. सुमन दाहाल, अन्तर्राष्ट्रिय आर्थिक सम्बन्ध महाशाखाका प्रमुख डा. धनीराम शर्मा, आर्थिक नीति विश्लेषण महाशाखाका प्रमुख महेश भट्टराई तथा वित्तीय संघीयता समन्वय महाशाखाका प्रमुख सेवन्तक पोखरेल रहेका छन्।

    सरकारले बजेट निर्माण प्रक्रियालाई समयमै टुंग्याउने तथा प्राथमिकता प्राप्त क्षेत्रहरूमा प्रभावकारी स्रोत परिचालन गर्ने लक्ष्यसहित काम सुरु गरेको जनाएको छ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend