काठमाडौँ। अमेरिका र इरानबीच अन्ततः दुई हप्ते युद्धविराम गर्ने सहमति भएको छ। मंगलबार राति भएको उक्त सहमति पाकिस्तानको मध्यस्थतामा सम्भव भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन्।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले युद्धविरामको घोषणा गर्दै इरानसँगको द्वन्द्वलाई अस्थायी रूपमा रोक्ने निर्णय भएको बताएका छन्। उनले इरानले पेश गरेको दशबुँदे प्रस्तावलाई “वार्ताका लागि उपयुक्त आधार” भएको उल्लेख गरेका छन्।
इरानले पनि उक्त सहमतिलाई पुष्टि गर्दै यसलाई आफ्नो ‘विजय’ का रूपमा व्याख्या गरेको छ। इरानको सर्वोच्च राष्ट्रिय सुरक्षा परिषद्ले अमेरिकाले आफ्नो प्रस्ताव स्वीकार गरेको दाबी गरेको छ।
यस युद्धविराममा पाकिस्तानले महत्वपूर्ण भूमिका खेलेको बताइएको छ। पाकिस्तानका प्रधानमन्त्री शहबाज शरीफको पहलमा दुवै पक्षबीच वार्ता अघि बढाइएको थियो। सहमतिको एक प्रमुख शर्तका रूपमा रणनीतिक महत्व बोकेको होर्मुज जलडमरूमध्य सुरक्षित रूपमा खुला गर्ने विषय समेटिएको छ।
युद्धविरामसँगै दुवै देशबीच थप वार्ता पाकिस्तानको राजधानी इस्लामाबादमा सुरु हुने तयारी गरिएको छ, जसमा दीर्घकालीन शान्ति सम्झौता टुंग्याउने लक्ष्य राखिएको छ। युद्धविराम घोषणा भएसँगै इरानका विभिन्न शहरहरूमा उल्लास छाएको छ। राजधानी तेहरानसहितका स्थानहरूमा नागरिकहरू सडकमा निस्किएर खुसी साटासाट गरिरहेका दृश्यहरू सार्वजनिक भएका छन्।
झण्डा बोकेर नाराबाजी, नाचगान तथा आतिशबाजीमार्फत जनताले शान्तिको स्वागत गरेका छन्। लामो समयसम्म चलेको तनावपछि आएको यो सहमतिले सर्वसाधारणमा राहत र आशा जगाएको छ।

