काठमाडौँ । एसईई परीक्षा २०८२ मा सहभागी विद्यार्थीहरूलाई लक्षित गर्दै नेपाल टेलिकमले विशेष ‘एसईई अफर २०८२’ सार्वजनिक गरेको छ। कम्पनीले बिहीबारदेखि लागू हुने गरी सुरु गरेको यो योजना आगामी २०८३ असार २६ गतेसम्म उपलब्ध रहने जनाएको छ।
यस अफर अन्तर्गत विद्यार्थीहरूले रु. २० मै नयाँ सिमकार्ड प्राप्त गर्न सक्नेछन्, जुन देशभरका नेपाल टेलिकमका कार्यालयहरूबाट उपलब्ध हुनेछ। नयाँ सिम सक्रिय गरेपछि ३० दिनसम्म विभिन्न सेवासहितको प्याकेज उपलब्ध हुने व्यवस्था गरिएको छ। सिममा प्रारम्भिक रूपमा रु. ९.८० मेन ब्यालेन्स उपलब्ध हुनेछ, जसबाट कल, एसएमएस र डाटा सेवा प्रयोग गर्न सकिनेछ।
कम्पनीका अनुसार ‘एसईई प्याकेज २०८२’ अन्तर्गत दैनिक २० मिनेट अन–नेट भ्वाइस, १० वटा अन–नेट एसएमएस र ५०० एमबी डाटा सुविधा उपलब्ध हुनेछ। यी सेवाहरू प्रत्येक दिनका लागि मात्र मान्य हुनेछन्। साथै, रु. ५० वा सोभन्दा बढी रिचार्ज गर्दा ५०० एमबी डाटा, ५० मिनेट अन–नेट कल र ५० वटा एसएमएस बोनसका रूपमा पाइनेछ, जुन तीन दिनभित्र प्रयोग गर्नुपर्नेछ।
नयाँ सिम प्राप्त गर्नका लागि परीक्षार्थीले एसईईको प्रवेश पत्र वा कक्षा १० को मार्कसिटको फोटोकपी, एकप्रति फोटो र आफ्नो वा अभिभावकको नागरिकता, राष्ट्रिय परिचयपत्र लगायतका सरकारी परिचयपत्रको फोटोकपी संलग्न गरी फाराम भर्नुपर्नेछ । साथै सिमकार्ड सक्रिय गर्नका लागि स्वयंले *1414# डायल गर्नुपर्नेछ । सो पश्चात् अफर प्राप्त गर्नका लागि *1600# डायल गरी निर्देशन अनुसार गर्नुपर्नेछ ।
पहिले नै प्रयोग भइरहेको सिममा समेत *1600# डायल गरी प्राप्त निर्देशन अनुसार अंग्रेजी अल्फाबेट बाहेक एसईईको सिम्बोल नम्बर टाइप गरी सेन्ड गर्ने ।
विक्रम संवतमा जन्म मिति टाइप गरी क्भलम गर्ने, DOB टाइप गर्दा YYMMDD Format मा टाइप गर्नुपर्नेछ । गत वर्ष पनि यस्तै योजना ल्याएको कम्पनीले विद्यार्थीहरूको सकारात्मक प्रतिक्रिया र बढ्दो आकर्षणलाई ध्यानमा राख्दै यसलाई निरन्तरता दिएको जनाएको छ।

