काठमाडौँ । पोखरा । पोखरा महानगरपालिका ले पोखरा अन्तर्राष्ट्रिय विमानस्थलदेखि अमरसिंह चोकसम्म आवतजावत गर्ने यात्रुका लागि निःशुल्क सटल बस सेवा सञ्चालनमा ल्याएको छ। हवाई यात्रुलाई सहज, भरपर्दो र सुलभ आवागमन सुविधा उपलब्ध गराउने उद्देश्यले सुरु गरिएको उक्त सेवाको सञ्चालन लागत कामना सेवा विकास बैंक ले व्यहोर्ने भएको छ।
महानगरपालिकाले वडा नम्बर १४ स्थित पोखरा अन्तर्राष्ट्रिय विमानस्थल देखि अमरसिंह चोकसम्म दैनिक दुईवटा विद्युतीय बस सञ्चालन गर्ने जनाएको छ। बिहान ६ बजेदेखि राति १० बजेसम्म सञ्चालन हुने यी बसहरूले यात्रुलाई विमानस्थलबाट मुख्य सडकसम्म पुग्न सहज बनाउने अपेक्षा गरिएको छ।
हाल विमानस्थलदेखि मुख्य सडकसम्म करिब २ किलोमिटर दूरी पैदल वा अन्य साधनबाट तय गर्नुपर्ने अवस्थाका कारण यात्रुहरू सास्ती खेप्दै आएका थिए। निःशुल्क सटल बस सेवाले उक्त समस्या समाधान गर्ने विश्वास महानगरपालिकाले लिएको छ।
महानगरपालिकाले २०८३ असार मसान्तसम्म यात्रुहरूलाई निःशुल्क सेवा उपलब्ध गराउने जनाएको छ। सो अवधिसम्म सञ्चालन हुने बस सेवाको लागत साझेदारी सम्बन्धी सम्झौतापत्रमा महानगरका तर्फबाट कार्यकारी अधिकृत ईश्वरीप्रसाद पोखरेल र बैंकका तर्फबाट पोखरा क्षेत्रीय प्रमुख शिवकुमार ढकालले हस्ताक्षर गरेका छन्।
सम्झौता कार्यक्रममा बोल्दै ढकालले स्थानीय तहले आम नागरिकका लागि सञ्चालन गर्ने सेवामा सहकार्य गर्न पाउँदा खुशी लागेको बताए। उनले आगामी दिनमा पनि महानगरसँग सहकार्य जारी राख्ने प्रतिबद्धता जनाए। यस्तै, प्रशासकीय अधिकृत पोखरेलले सेवा सञ्चालनमा सहयोग गरेकोमा बैंकलाई धन्यवाद दिएका छन्।

