काठमाडौँ । फागुन २१ को निर्वाचनमा दुई तिहाइ नजिकको बहुमत ल्याएर चैत १३ मा बालेन्द्र शाह बालेनको नेतृत्वमा सरकार बनेपछि पहिलो पटक अमेरिकाबाट उच्चस्तरीय भ्रमण हुने भएको छ।
दक्षिण तथा मध्य एसिया मामिला हेर्ने अमेरिकी सहायक विदेशमन्त्री समिर पल कपुर तीनदिने नेपाल भ्रमणमा वैशाख ७ मा काठमाडौं ओर्लिने भएका हुन्। रास्वपाको नेतृत्वमा सरकार बनेपछि नेपाल आउन लागेका कपुर पहिलो उच्चस्तरीय कूटनीतिज्ञ हुनेछन्।
परराष्ट्र मन्त्रालयका अनुसार नेपाल भ्रमणमा रहँदा अमेरिकी सहायक विदेशमन्त्री कपुरले परराष्ट्रमन्त्री शिशिर खनाललगायतसँग उच्चस्तरीय भेटवार्ता गर्नेछन्।
यद्यपि प्रधानमन्त्री बालेनसँग भेटघाटको तालिका सार्वजनिक भइसकेको छैन। वैशाख ९ गते उनी स्वदेश फर्कने छन्।
फागुन २१ गतेको निर्वाचनबाट झन्डै दुईतिहाइ सिट जितेको रास्वपा नेतृत्वको सरकारसँग सम्बन्ध सुधार गर्न अमेरिकी सहायक विदेशमन्त्री नेपाल आउन लागेको परराष्ट्र मन्त्रालय स्रोतले जनाएको छ।

