काठमाडौं । इरान र अमेरिकाबीचको तनाव पुनः चर्किएको छ। अमेरिकामाथि युद्धविराम उल्लङ्घनको आरोप लगाउँदै इरानले विश्वकै महत्त्वपूर्ण समुद्री व्यापार मार्ग होर्मुज स्ट्रेट पुनः बन्द गरेको घोषणा गरेको छ। यस कदमले विश्वव्यापी ऊर्जा आपूर्ति र व्यापार प्रणालीमा गम्भीर असर पर्ने संकेत देखिएको छ।
इरानले आफ्ना जहाजहरू अवरुद्ध भए अन्य कुनै पनि देशका जहाजलाई उक्त मार्ग प्रयोग गर्न नदिने चेतावनी दिएको छ। शनिबार इरानले होर्मुज स्ट्रेट बन्द गर्नुका साथै एक भारतीय जहाजमाथि गोली चलाएको दाबीसमेत सार्वजनिक भएपछि क्षेत्रीय तनाव झन् तीव्र बनेको छ।
इरानी संसद्का सभामुख मोहम्मद बागेर गालिबाफले अमेरिकाको नाकाबन्दीलाई ‘गलत’ ठहर गर्दै जुनसुकै बेला अवस्था थप बिग्रन सक्ने बताएका छन्। उनले होर्मुज क्षेत्रमा राखिएका बारुदी सुरुङ हटाउने प्रयासलाई युद्धविराम उल्लङ्घन मानिने र त्यसको कडा जवाफ दिइने चेतावनी दिएका छन्। गालिबाफले अमेरिका सैन्य रूपमा बलियो भए पनि रणनीतिक रूपमा इरानभन्दा कमजोर रहेको आरोपसमेत लगाए।
यसैबीच, अमेरिकी गुप्तचर निकाय तथा अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूको रिपोर्टअनुसार हालको तनावका बाबजुद इरानको सैन्य क्षमता अझै मजबुत रहेको देखिएको छ। रिपोर्टहरूमा इरानसँग करिब ७० प्रतिशत ब्यालेस्टिक मिसाइल, ६० प्रतिशत मिसाइल प्रक्षेपण प्रणाली र ४० प्रतिशत ड्रोन भण्डार सुरक्षित रहेको उल्लेख गरिएको छ।
इरानले अमेरिकी र इजरायली आक्रमणबाट अस्पतालहरूमा पुगेको क्षतिको भिडियो सार्वजनिक गर्दै अन्तर्राष्ट्रिय समुदायको ध्यानाकर्षण गराएको छ।
होर्मुज स्ट्रेट बन्द भएपछि यसको असर विश्वभर देखिन थालेको छ। विशेषगरी इन्धन आयातमा निर्भर देशहरू गम्भीर संकटतर्फ धकेलिएका छन्। बङ्गलादेशमा पेट्रोल पम्पहरूमा लामो लाइन लाग्नुका साथै ऊर्जा बचतका लागि विश्वविद्यालयहरू बन्द गरिएको र कार्यालय समयसमेत कटौती गरिएको छ।
अमेरिकाले सम्भावित संकट व्यवस्थापन गर्न आफ्नो आपत्कालीन भण्डारबाट २ करोड ६० लाख ब्यारेल तेल बजारमा पठाउने निर्णय गरेको छ। तनावबीच कूटनीतिक पहल भने अझै अनिश्चित बनेको छ। पाकिस्तानमा सम्भावित वार्ताको चर्चा भए पनि इरानले तत्काल प्रत्यक्ष वार्ताको सम्भावना नकारेको छ।
इरानका उपविदेशमन्त्री सईद खतीबजादेहले स्पष्ट सर्त र ‘फ्रेमवर्क’ तय नभएसम्म वार्ता अघि नबढ्ने बताएका छन्। उनले अमेरिकाले आफ्ना सर्त नत्यागेसम्म कुनै सहमति नहुने र प्रशोधित युरेनियम हस्तान्तरण नगर्ने अडान दोहोर्याएका छन्।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इजरायललाई ‘साहसी र विश्वासिलो साझेदार’ भन्दै प्रशंसा गरेका छन् र इरानमाथिको नाकाबन्दी जारी रहने बताएका छन्। तर, पूर्वउपराष्ट्रपति कमला ह्यारिसले इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहूमाथि ट्रम्पलाई युद्धतर्फ धकेलेको आरोप लगाउँदै अमेरिकी सैनिकहरूको ज्यान जोखिममा पारिएको टिप्पणी गरेकी छन्।
होर्मुज स्ट्रेट बन्द गर्ने इरानको निर्णयले केवल क्षेत्रीय तनाव मात्र नभई विश्वव्यापी अर्थतन्त्र, ऊर्जा आपूर्ति र कूटनीतिक सम्बन्धमा गम्भीर प्रभाव पार्ने देखिएको छ। स्थिति थप जटिल बन्दै गइरहेको अवस्थामा विश्व समुदायको ध्यान अब यस संकटको समाधानतर्फ केन्द्रित भएको छ।

