काठमाडौं । नेपाल आयल निगमले नेपालमा इन्धन महँगो भएको भन्दै कच्चा तेल (क्रुड आयल) सँग तुलना गरेर गरिएका टिप्पणीहरू भ्रामक रहेको स्पष्ट पारेको छ। निगमका अनुसार नेपालमा पेट्रोलियम पदार्थको खुद्रा मूल्य निर्धारण प्रशोधित इन्धनको अन्तर्राष्ट्रिय बजार मूल्यका आधारमा हुने भएकाले कच्चा तेलसँग तुलना गर्नु उचित नहुने जनाएको हो।
निगमका प्रवक्ता मनोज ठाकुरका अनुसार क्रुड आयलको मूल्यभन्दा प्रशोधित पेट्रोल र डिजेलको मूल्य स्वाभाविक रूपमा बढी हुने भएकाले मूल्य विश्लेषण गर्दा प्रशोधित इन्धनकै मूल्यलाई आधार बनाउनुपर्ने हुन्छ। नेपालसँग आफ्नै रिफाइनरी नहुँदा कच्चा तेल आयात गरेर प्रशोधन गर्ने विकल्प नरहेको र भारतको इन्डियन आयल कर्पोरेसन बाट सिधै प्रशोधित पेट्रोलियम पदार्थ आयात गर्नुपर्ने बाध्यता रहेको उनले बताए।
निगमले उपलब्ध गराएको तथ्यांकअनुसार अन्तर्राष्ट्रिय बजारमा क्रुड आयल र प्रशोधित इन्धनबीचको मूल्य अन्तर पछिल्लो समय निकै बढेको छ। सामान्य अवस्थामा क्रुड र पेट्रोलबीच करिब १० डलर तथा डिजेलसँग २० डलरको अन्तर रहने भए पनि हाल यो अन्तर क्रमशः १४४ डलर र २१६ डलरसम्म पुगेको छ, जसले प्रशोधित इन्धन आयात गर्ने मुलुकहरूमा थप मूल्यवृद्धिको दबाब सिर्जना गरेको निगमको भनाइ छ।
निगमका अनुसार भन्सार, कर, ढुवानी, बीमा, भण्डारण तथा सेवा शुल्कजस्ता विभिन्न लागतहरूले पनि इन्धनको अन्तिम खुद्रा मूल्य निर्धारणमा महत्वपूर्ण भूमिका खेल्ने गर्छन्। यही कारणले अन्तर्राष्ट्रिय बजारसँग तुलना गर्दा नेपालमा इन्धन महँगो देखिए पनि त्यसको वास्तविक आधार फरक रहेको निगमले स्पष्ट पारेको छ।
निगमले हालै डिजेल र मट्टितेलमा प्रतिलिटर ३० रुपैयाँ तथा हवाई इन्धनमा ५ रुपैयाँ वृद्धि गरेको थियो। मूल्य वृद्धि भए पनि डिजेलमा अझै प्रतिलिटर करिब ९९ रुपैयाँ घाटा भइरहेको निगमले जनाएको छ। अन्तर्राष्ट्रिय बजारमा मूल्य निरन्तर बढिरहेको अवस्थामा १५ दिनमै करिब ५ अर्ब ७५ करोड रुपैयाँसम्म घाटा हुने अवस्था रहेको प्रवक्ता ठाकुरले बताएका छन्।
निगमले इन्धन मूल्य निर्धारणसम्बन्धी विषयमा तथ्यमा आधारित विश्लेषण गर्न र कच्चा तेलसँग तुलना गरेर उपभोक्तामा भ्रम नछर्न आग्रह गरेको छ।

