काठमाडौं । गृहमन्त्री सुधन गुरुङले पदबाट राजीनामा दिएका छन् । विवादित व्यवसायीसँग साझेदारी रहेको र सेयर कारोबारमा संलग्न भएको विषय सार्वजनिक भएपछि चौतर्फी आलोचना बढेपछि उनले बुधबार प्रधानमन्त्री बालेन शाहलाई भेटेर राजीनामा बुझाएका हुन् ।
गुरुङले आफूले पद छोडेको जानकारी सामाजिक सञ्जाल फेसबुकमार्फत सार्वजनिक गरेका छन् । उनले पछिल्ला दिनहरूमा आफ्नो नाम जोडिएर उठेका प्रश्न, टिप्पणी र जनचासोलाई गम्भीर रूपमा लिएको बताएका छन् । सार्वजनिक जीवनमा नैतिकता, पारदर्शिता र जवाफदेहिता सबैभन्दा ठूलो मापदण्ड भएको उल्लेख गर्दै उनले पदमा बसिरहँदा निष्पक्ष छानबिन प्रभावित हुन सक्ने भएकाले राजीनामा दिएको स्पष्ट पारेका छन् ।
राजीनामासम्बन्धी आफ्नो सन्देशमा गुरुङले २०८२ चैत १३ गतेदेखि गृहमन्त्रीको जिम्मेवारी इमानदारीपूर्वक निर्वाह गर्दै आएको दाबी गरेका छन् । तर पछिल्ला दिनहरूमा आफ्नो सेयरलगायतका विषयमा उठेका प्रश्नलाई बेवास्ता गर्न नसकिने उल्लेख गर्दै उनले जनविश्वास जोगाउन आफू पदमुक्त भएको बताएका छन् । “मेरो लागि पदभन्दा ठूलो कुरा नैतिकता हो, र जनविश्वासभन्दा ठूलो शक्ति कुनै हुँदैन,” उनले लेखेका छन् ।
उनले देशमा सुशासन, पारदर्शिता र उत्तरदायित्वको माग गर्दै उठिरहेको जेनजी आन्दोलनले पनि सार्वजनिक जीवन स्वच्छ हुनुपर्छ भन्ने सन्देश दिएको उल्लेख गरेका छन् । यही कारण आफूले आफ्नो विषयमा निष्पक्ष छानबिनको मागसमेत गरेको उनको भनाइ छ । पदमा रहेर छानबिन हुँदा स्वार्थको द्वन्द्व देखिन सक्ने र त्यसले अनुसन्धान प्रक्रियामा असर पार्न सक्ने भन्दै उनले आजकै मितिबाट लागू हुने गरी गृहमन्त्री पदबाट राजीनामा दिएको बताएका छन् ।
गुरुङले आफ्नो वक्तव्यमा सरकारमाथि प्रश्न उठे त्यसको जवाफ नैतिकता भएको बताएका छन् । “मेरा ४६ जना भाइबहिनीहरूको रगत र बलिदानीको आडमा बनेको सरकारलाई कसैले प्रश्न गर्छ भने त्यसको जवाफ नैतिकता हो,” उनले उल्लेख गरेका छन् । यसैलाई आधार बनाएर आफूले नैतिक जिम्मेवारी निर्वाह गरेको उनको दाबी छ ।
राजीनामासँगै उनले सञ्चारमाध्यम र आमनागरिकलाई समेत सन्देश दिएका छन् । सत्य, इमानदारी र आत्मशुद्धिको बाटोमा सबै उभिनुपर्ने उल्लेख गर्दै उनले परिवर्तन चाहने सबैले त्याग र नैतिक साहस देखाउनुपर्ने बताएका छन् । साथै, केही सञ्चारकर्मीहरूतर्फ पनि संकेत गर्दै “कति मिडियाकर्मी साथीहरूको कहाँ कहाँ स्वीट शेयर छ विस्तारै आउला” भन्ने चेतावनीपूर्ण टिप्पणी गरेका छन् ।

